विद्यालयमा जातीय विभेद गरेको आरोपमा शिक्षक हिरासतमा


पैरवी खबर

निराजन परियार

चौमाला (कैलाली), असोज १५ गते। कैलालीको गौरीगङ्गा नगरपालिका –६ मोयास्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन जना शिक्षक पक्राउ परेका छन् । दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको उजुरीका आधारमा शिक्षिका भगवती बडैला, भगवती रेग्मी र शिक्षक टेकराज उपाध्याय पक्राउ परेका हुन्।

पक्राउ पर्नुभएका तीनै जना शिक्षक, शिक्षिकालाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराले जानकारी दिनुभयो। उहाँले घटनासम्बन्धी उजुरी परेपछि अनुसन्धानको क्रममा शिक्षिकालाई पक्राउ गरिएको बताउनुभयो।

विद्यालयमा दलित समुदायका विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षिका र कार्यालय सहयोगीमाथि जातीय आधारमा विभेदपूर्ण व्यवहार भएको आरोप लगाइएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर विक, शिक्षिका बिना विक, कार्यालय सहयोगी लक्ष्मीदेवी दमाई तथा दलित विद्यार्थीमाथि जातीय विभेद गरिएको बिद्यालय समितिका सदस्य कैलाश आउजीले बताउनुभयो।

घटनाबारे जानकारी सार्वजनिक भएपछि स्थानीयवासी, विद्यार्थीका अभिभावक तथा विभिन्न सरोकारवालाले विद्यालयमा भएको जातीय विभेदको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभएको थियो। नेपालको संविधानले जातीय भेदभाव तथा छुवाछुतलाई निषेध गरेको छ।
(गोरखापत्र बाट साभार )