महाकालीको झोलुङ्गे पुल भाँचिँदा दोधारा-भीमदत्त आवागमन अवरुद्ध


पैरवी खबर

हेमा भट्ट, असोज १४
कञ्चनपुर – महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ।

दोधारा चाँदनी नगरपालिका-४ स्थित पुलको दोधारा चाँदनीतर्फ करिब ५-६ मिटर भाग माथि उठेर क्षतिग्रस्त भएको हो। पुलको उक्त भागमा समस्या आएपछि पैदल यात्रुसमेत जोखिमपूर्ण रूपमा आवतजावत गर्नुपर्ने अवस्था सिर्जना भएको बताइएको छ।

पुलको संरचनामा क्षति पुग्दै पिल्लरसमेत भत्किएपछि पुलको केही भाग भाँचिन गई बाटो पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ। पुल भाँचिएसँगै दैनिक आवतजावत गर्ने स्थानीयवासी तथा सर्वसाधारणलाई समस्या भएको छ।

घटनापछि सम्बन्धित निकायले क्षतिग्रस्त पुलको अवस्थाबारे आवश्यक निरीक्षण गरी तत्काल आवतजावत सहज बनाउनेतर्फ पहल गर्नुपर्ने देखिएको छ। पुलको अवस्था जोखिमपूर्ण रहेकाले थप दुर्घटना हुन नदिन सम्बन्धित निकायबाट आवश्यक सुरक्षा तथा व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीयको अपेक्षा छ।
(रैकवार खबरबाट )