रमेश पुरुष
अछाम । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साँझेदारीमा आस्था नेपाल र वाक नेपालद्वारा संचालित हातेमालो बालकल्याण परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको वार्षिक समिक्षात्मक बैठक तथा सार्बजनिक लेखापरीक्षण सम्पन्न भएको छ ।
समीक्षा कार्यक्रममा अनुगमनबाट प्राप्त उपलब्धि, सिकाइ तथा चुनौतीबारे छलफल गर्दै आगामी दिनमा परियोजनालाई थप प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रणनीति तथा कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा परियोजनाले बालबालिकाको समृद्धि, संरक्षण र एकीकृत विकासमा सकारात्मक योगदान पुर्याइरहेको उल्लेख गर्दै आगामी दिनमा स्थानीय सरकार, समुदाय, विद्यालय तथा अन्य सरोकारवाला निकायबीच थप समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
अनुगमन तथा समीक्षा कार्यक्रमले परियोजनाको कार्यान्वयन अवस्थाको मूल्याङ्कन गर्नुका साथै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी, परिणाममुखी र बालमैत्री बनाउन आवश्यक मार्गदर्शनसमेत प्रदान गरेको छ।
जिल्ला परियोजना सल्लाहकार समितिले २४ गते स्थलगत अनुगमन गरेको छ।
समितिले परियोजना सञ्चालन भइरहेका जिल्लाका चार वटा स्थानीय तह साँफेबगर नगरपालिका , मेल्लेख गाउँपालिका ,पन्चदेवल विनायक नगरपालिका र कमलबजार नगरपालिकामा पुगेर बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा समग्र विकासका लागि सञ्चालन भइरहेका कार्यक्रमको अनुगमन गरेको हो।
अनुगमनका क्रममा परियोजनाले हासिल गरेका उपलब्धि, कार्यक्रमको प्रभाव तथा कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुका साथै देखिएका समस्या, चुनौती र सुधार गर्नुपर्ने पक्षका विषयमा सम्बन्धित पक्षसँग छलफल गरिएको थियो।
जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर , पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने , कमलबजार नगरपालिका उप प्रमुख शारदा बिष्ट कुँवर , मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी , मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्का , प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढा , जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्मपति अतिथि रहनुभएको थियो ।
जनप्रतिनिधि , जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाका पदाधिकारी , पालिकाहरुका सम्बन्धित कर्मचारी , गैरसरकारी संस्था महासंघ अछाम अध्यक्ष बल बहादुर केसी , पत्रकारहरु ,जिल्ला परियोजना सल्लाहकार समितिका पदाधिकारी, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, आस्था नेपाल र वाक नेपालका प्रतिनिधिसहित परियोजनासँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।


