राजविराज, भदाै २५ गते । सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रसूति गराउन आएकी बविता पासवानले पैसाको अभावमा उपचार नपाएपछि सडकमै बच्चा जन्माउनुपरेको कारुणिक घटनाप्रति राष्ट्रिय दलित आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सप्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग फोनवार्ता गरी घटनाको यथार्थ विवरण र वस्तुस्थितिबारे जानकारी लिनुभएको छ।
आयोगका अध्यक्ष विश्वकर्मासँगको कुराकानीका क्रममा प्रमुख जिल्ला अधिकारीले पैसाको अभावकै कारण बिरामीलाई उपचार नगराई फर्काउनु अस्पतालको गम्भीर कमजोरी रहेको स्वीकार गर्नुभएको छ। घटनाको निष्पक्ष जाँच गरी दोषीमाथि कारबाही अघि बढाउनका लागि छानबिन समिति समेत गठन गरिसकिएको जानकारी प्रजिअले दिनुभएको छ।
यसैबीच, घटनापछि घर फर्किसकेकी बविता पासवानलाई अस्पतालले आफ्नै एम्बुलेन्स पठाएर पुनः ल्याई भर्ना गरेको छ। हाल आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको र उनीहरू अस्पतालको रेखदेखमा रहेको जनाइएको छ।
मानवताविहीन यस घटनालाई सञ्चारमाध्यममार्फत सार्वजनिक गरी पीडितको न्याय र उद्धारमा सहयोग पुर्याउने सञ्चारकर्मीहरूलाई राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले धन्यवाद ज्ञापन गर्नुभएको छ


