बिपद व्यवस्थापनका लागि प्रदेश सरकार सक्रिय


पैरवी खबर

धनगढी । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले भोटेकोसी बाढीपीडितका लागि २ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले प्रदेश सरकारले यसअघि गरेको निर्णय कार्यान्वयन गर्दै उक्त रकम निकासा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको हो ।
बैठकले सुदूरपश्चिम प्रदेशमा बाढी तथा अन्य विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ । त्यसका लागि तीनै तहका सरकारबीच समन्वय गर्दै मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।
विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक तयारी र समन्वयका साथ परिचालन गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो।