साँफेबगर । अछामको साँफेबगर नगरपालिकामा आयोजित अपाङ्गता भएका नागरिकलाई परिचयपत्र वितरण शिविरबाट १४ जना अपाङ्गता भएका नागरिकले अपाङ्गताको परिचय पत्र प्राप्त गरेका छन्।
साँफेबगर नगरपालिकाको आयोजना तथा आस्था नेपाल र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ‘महिला र सीमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्धि परियोजना–ए टु जे दोस्रो’ अन्तर्गत नगरपालिका स्तरीय परिचयपत्र वितरण शिविर सञ्चालन गरिएको हो।
शिविरबाट ‘क’ वर्गको अपाङ्गता परिचय पत्र तीन जना, ‘ख’ वर्गको नौ जना, ‘ग’ वर्गको एक जना र ‘घ’ वर्गको एक जना गरी १४ जनाले परिचय पत्र प्राप्त गरेका छन्।
शिविरमा अपाङ्गता भएका नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक सहजीकरणका लागि डा. सुधीर कुमार यादवले सेवा प्रदान गर्नु भएको थियो। परिचय पत्र वितरणका लागि आवश्यक समन्वय तथा सहजीकरणमा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, उपप्रमुख शिव बहादुर कुँवर ‘शिलोज’, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओली, विभिन्न वडाका वडा अध्यक्षहरु लगायत शाखा प्रमुख तथा कर्मचारीहरुको सहयोग रहेको थियो।
अपाङ्गता भएका नागरिकलाई राज्यबाट प्राप्त हुने सेवा, सुविधा तथा अधिकारमा सहज पहुँच सुनिश्चित गर्न परिचय पत्र महत्वपूर्ण हुने भएकाले शिविरबाट स्थानीय स्तरमै सेवा उपलब्ध गराईएको आयोजकले जनाएको छ।
शिविर सम्पन्न गर्न सहयोग तथा समन्वय गर्ने सबै प्रति आस्था नेपालका कर्मचारी भ्वान सिंह सार्कीले धन्यवाद व्यक्त गर्नु भएको छ।


