नेकपा अछामद्वारा पालिका समायोजन सम्पन्न, सपथ ग्रहण गर्न बाँकीलाई यथाशीघ्र गर्न निर्देशन


पैरवी खबर

अछाम, साउन १० — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अछाम जिल्ला समितिले संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिँदै जिल्लाका १० वटै स्थानीय तहमा पालिका समिति समायोजन तथा जिम्मेवारी बाँडफाँट सम्पन्न गरेको जनाएको छ।
जिल्ला समिति संयोजक प्रकाश बहादुर शाहको संयोजकत्व तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जैशीको प्रमुख आतिथ्यतामा बसेको जिल्ला समिति तथा पालिका समायोजन बैठकले पालिका इन्चार्ज, पालिका संयोजक, सदस्य संख्या र सचिवालय समितिको टुंगो लगाएको हो। बैठकले समायोजन कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार केही जिल्ला सदस्यहरूले बैठकमै सपथ ग्रहण गरेका छन् भने बाँकी सदस्यहरूले पार्टीका आगामी कार्यक्रममा सहभागी भई यथाशीघ्र सपथ ग्रहण गर्न अनुरोध गरिएको छ। साथै जिल्ला समितिभित्र रहेर पनि सपथ ग्रहण नगर्ने सदस्यलाई विदाइ गरिने चेतावनीसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यसैगरी, पालिका समायोजन सम्पन्न भइसकेका स्थानीय तहमा वडा समिति समायोजन कार्यलाई पनि निर्धारित समयसीमाभित्र पूरा गर्ने निर्णय गरिएको छ। वडा समायोजन गर्दा पार्टीको निर्धारित मापदण्ड र निर्देशन पालना गर्न सम्बन्धित समितिलाई आग्रह गरिएको छ।
जिल्ला, पालिका र वडा तहको संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको समायोजन अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण नेता–कार्यकर्ताप्रति जिल्ला समितिले धन्यवाद व्यक्त गरेको छ।