टेक राज भण्डारी,
अछाम । विश्व बाल दिवसकाे अवसरमा गंगा माध्यामिक विद्यालयमा आधारभूत तह स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे परिपत्र अनुसार मंगलसेन नगरपालिका वडा न ६ मा रहेका बिद्यालयहरुबिच आधारभुत तह कक्षा (१-५) स्तरीय “बालमैत्री बिद्यालय” शिर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको हाे ।
प्रतियोगितामा गंगा मावि तेसिंगे र मालिका आधारभूत विद्यालय ठुलासैनका १२ जना छात्रछात्राकाे सहभागीता रहेकाे थियाे ।
चित्रकला प्रतियोगितामा विद्यार्थीहरु टोपेन्द्र ढुङ्गाना प्रथम, योगेश भण्डारी द्वितीय, हेमन्त धमाला तृतीय तथा निशा तिमिल्सेना सान्तवना भएका छन् ।
गंगा मा.वि. का प्रधानाध्यापक मोति राम भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा अन्य विद्यार्थीहरु आ आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । गीत, नृत्य, कविता, गजल लगायतका प्रस्तुति विद्यार्थीले प्रस्तुत गरेका थिए । प्रतियोगितामा उत्कृष्ठता हाँसिल गर्नुहुने विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको विद्यालयका सूचना अधिकारी टेक राज भण्डारीले जानकारी गराउनुभयाे । सन् १९५४ मा संयुक्त राष्ट्रसंघ (UN) ले विश्वभरका बालबालिकाबीच आपसी सद्भाव र समझदारी बढाउन ‘विश्वव्यापी बाल दिवस’ (Universal Children’s Day) को स्थापना गरेको थियाे । सन् १९५९ नाेभेम्बर २० तारेखका दिन संयुक्त राष्ट्रसंघको महासभाले बाल अधिकार सम्बन्धी घोषणापत्र पारित गर्नुका साथै सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकार महासन्धि पारित गरेकाे थियाे ।


