अछामका १० स्थानीय तहमा भूमि प्रशासन सेवा अनिवार्य सञ्चालन गर्न निर्देशन


पैरवी खबर

अछाम । भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्न अछामका १० वटै स्थानीय तहलाई निर्देशन दिइएको छ।
भूमि प्रशासन कार्यालय अछामले पत्राचार गर्दै तोकिएको समयभित्र अनिवार्य रूपमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहका लागि स्थानीय तहलाई एक महिनाभित्र सेवा सञ्चालन गर्न भनिएको थियो। सोही व्यवस्थाअनुसार भूमि प्रशासन कार्यालय अछामले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सबै स्थानीय तहलाई तोकिएको समयभित्र सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो।

कार्यालयले सेवा सञ्चालनका क्रममा आवश्यक प्रशासनिक सहजीकरण तथा समन्वयका लागि भूमि प्रशासन कार्यालयसँग सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।