मेल्लेख–५ मा मर्यादित महिनावारी, बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनस सम्बन्धी समीक्षा कार्यक्रम


पैरवी खबर

मेल्लेख । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५, बिन्धेवासिनीमा मर्यादित महिनावारी मैत्री, बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन वडा घोषणा पूर्वको समीक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। शनिबार वडा स्थित सभा हलमा आयोजित कार्यक्रम CFLG/NFLG समितिको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा समविकास नेपाल लगायत साझेदार संस्थाहरुको सहकार्य रहेको थियो। कार्यक्रममा आस्था नेपालका परियोजना अधिकृत तपेन्द्र ठकुल्लाले मर्यादित महिनावारी मैत्री, बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी ५१ वटा सूचकका विषयमा सहजीकरण गरेका थिए। उहाँले वडा घोषणाका लागि आवश्यक सूचकहरुको अवस्था, तिनको महत्व तथा पूरा गर्नु पर्ने मापदण्डका विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा मेल्लेख गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश अधिकारीको उपस्थिति रहेको थियो। वडालाई मर्यादित महिनावारी मैत्री, बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने लक्ष्य अनुसार सूचकहरुको अवस्था समीक्षा गर्दै आवश्यक तयारी र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। स्थानीय तहमा बालबालिकाको अधिकार, पोषण, मर्यादित महिनावारी तथा समावेशी शासन व्यवस्थालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।