अछाममा सुस्त मनस्थितिकी महिलामाथि जबर्जस्ती करणी, ७ हप्ताको गर्भ पुष्टि


पैरवी खबर

अछाम । जिल्लाको मंगलसेन नगरपालिका–८ मा बस्ने करिब ३० वर्षीया सुस्त मनस्थितिकी र स्पष्ट बोल्न नसक्ने महिलामाथि जबर्जस्ती करणी भएको घटना सार्वजनिक भएको छ। पीडित (परिवर्तित नाम ६९/८३ कुमारी) गर्भवती रहेको हल्लापछि प्रहरीलाई जानकारी पुगेको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मिति २०८३/०१/०५ गते गस्तीमा गएको टोलीले उक्त सूचना प्राप्त गरेलगत्तै पीडितलाई उद्धार गरेको थियो। त्यसपछि One Stop Crisis Management Center (OCMC) मार्फत स्वास्थ्य परीक्षण गर्दा पीडितको पेटमा करिब ७ हप्ताको गर्भ रहेको पुष्टि भएको छ।
प्रहरीले पीडितलाई सेफ हाउसमा राखी काउन्सिलिङ तथा सोधपुछ गर्दै गोप्य अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानका क्रममा पीडितको घरनजिकै रहेको विद्यालयको निर्माणस्थलमा काम गर्न आएका एक दैनिक ज्यालादारी कामदारले निर्माणाधीन भवनभित्र लगी जबर्जस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ।
शंकित व्यक्तिको हुलियाको आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले मिति २०८३/०१/०७ गते मंगलसेन नगरपालिका–५ बाट एक जनालाई नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा पक्राउ पर्ने व्यक्ति हेटौंडा उपमहानगरपालिका–२ निवासी ५८ वर्षीय राजन फुयाँल शर्मा रहेको खुलेको छ।
प्रहरीका अनुसार आरोपितले मिति २०८२/११/१६ गते उक्त घटना घटाएको स्वीकार गरेको छ भने पीडितले समेत सनाखत गरिसकेकी छन्। मिति २०८३/०१/०८ गते पीडितको आफन्तमार्फत जाहेरी दर्ता गरिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।