काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहमा प्रयोग हुने पाठ्यपुस्तक तथा पाठ्यसामग्रीमा अनियमितता नगर्न कडा निर्देशन दिएको छ ।
केन्द्रले जारी गरेको परिपत्रमा शैक्षिक सत्र २०८३ का लागि नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक र पाठ्यसामग्री मात्र विद्यालयमा लागू गर्नुपर्ने उल्लेख गरिएको छ । पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको मूल्य र पृष्ठ संख्या समेत केन्द्रले तोकेको मापदण्डअनुसार हुनुपर्ने जनाइएको छ ।
परिपत्रमा केही स्थानमा कानुन विपरीत बढी मूल्य तोक्ने, कम गुणस्तरका सामग्री प्रयोग गर्ने तथा स्वीकृति नलिएका पुस्तक बिक्री गर्ने जस्ता गतिविधि भइरहेको गुनासो आएको उल्लेख छ । यस्तो कार्यले विद्यार्थी र अभिभावकमाथि अतिरिक्त आर्थिक भार पर्ने तथा शैक्षिक गुणस्तरमा असर पर्ने केन्द्रको भनाइ छ ।
त्यस्तै, विद्यालयहरूले पोशाक, पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री वितरणमा समेत अनियमितता गरेको पाइए कारबाही गरिने चेतावनी दिइएको छ । यस्ता गतिविधि रोक्न स्थानीय तहसँग समन्वय गरी अनुगमन गर्न र आवश्यक कारबाही गर्न समेत केन्द्रले निर्देशन दिएको छ ।
केन्द्रले सम्बन्धित निकायलाई यस्ता अनियमित गतिविधिबारे जानकारी भएमा तुरुन्त सूचित गर्न अनुरोध गरेको छ ।


