अछाम । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अछामका विभिन्न स्थानीय तहका कृषक तथा पशुपन्छी फर्मलाई १ लाख ५७ हजार ४५० रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ।
कृषि तथा पशुपालन व्यवसायमा संलग्न कृषकहरूको लगानी र पशुधनको सुरक्षा गर्ने उद्देश्यले कम्पनीले पशुपन्छी बीमा कार्यक्रमअन्तर्गत उक्त रकम भुक्तानी गरेको हो।
साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका र कमलबजार नगरपालिकाका बीमित कृषक तथा पशुपन्छी फर्मलाई कुल १ लाख ५७ हजार ४५० रुपैयाँ दाबी भुक्तानी गरिएको हो। उक्त रकमको कुल बीमाङ्क १ लाख ७१ हजार रुपैयाँ रहेको छ।
भुक्तानी विवरणअनुसार साँफेबगर नगरपालिका–१३ का नवलसिंह कुँवरको १ लाख रुपैयाँ बराबरको भैंसी सर्पको टोकाइबाट मृत्यु भएपछि ९० हजार रुपैयाँ दाबी भुक्तानी गरिएको छ। त्यस्तै पदम रावतलाई १५ हजार २०० रुपैयाँ र जयन्ती अधिकारीलाई १४ हजार २५० रुपैयाँ भुक्तानी गरिएको छ।
यसैगरी बान्नीगढी जयगढ गाउँपालिकाकी हेड्मा देवी कुँवरलाई ११ हजार ४०० रुपैयाँ, रामारोशन गाउँपालिकाका ताराबहादुर साउदलाई १४ हजार २५० रुपैयाँ तथा कमलबजार नगरपालिकास्थित आयुष पशुपन्छी फर्मलाई १२ हजार ३५० रुपैयाँ बीमा दाबीबापत भुक्तानी गरिएको कम्पनीले जनाएको छ।
बीमा दाबी भुक्तानी कार्यक्रममा वडा सदस्य बलबहादुर साउद, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रमानन्द जोशी, भीम रावत, वडा सामाजिक सहजकर्ता डम्बरकला नेपालीलगायत स्थानीय बुद्धिजीवी, कृषक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बीमा दाबी प्राप्त गरेका कृषक नवलसिंह कुँवरले कम्पनीले कृषकको समस्यालाई बुझेर बीमा दाबी भुक्तानी गरेकोमा खुसी व्यक्त गर्दै पशुधनको सुरक्षाका लागि सबै कृषकलाई अनिवार्य रूपमा बीमा गराउन आग्रह गरे।
उनले पशुपालनमा जुनसुकै बेला जोखिम आउन सक्ने भएकाले समयमै बीमा गराउनु आवश्यक रहेको बताए। बीमा दाबी भुक्तानीबाट सन्तुष्ट कुँवरले सोही अवसरमा नयाँ भैंसी खरिद गरी तत्कालै बीमासमेत गराएका छन्।
पशुपालन ग्रामीण क्षेत्रका कृषकको आयआर्जन र जीविकोपार्जनको महत्वपूर्ण आधार भएकाले रोग, दुर्घटना, सर्पको टोकाइ तथा अन्य जोखिमबाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न पशुपन्छी बीमा प्रभावकारी माध्यम बन्ने कम्पनीको विश्वास छ।
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड अछाम शाखाका शाखा प्रमुख प्रेमराज रेग्मी र पशु प्राविधिक होमराज जोशीले कृषकलाई आफ्ना गाई, भैंसी, गोरु, बाख्रा तथा अन्य पशुपन्छीको समयमै बीमा गराई सम्भावित आर्थिक जोखिमबाट सुरक्षित रहन आग्रह गरेका छन्।


