अछामको प्रसिद्ध ‘केदारनाथ मेला’ (जामाको जात्रा) सुरु


पैरवी खबर

हिक्मत बहादुर नेपाली

​लगातार दस दिनसम्म चल्ने अछामको सबैभन्दा ठूलो धार्मिक तथा सांस्कृतिक उत्सव ‘केदारनाथ मेला’ यस वर्ष कात्तिक २८ गते आज देखि विधिवत् रूपमा प्रारम्भ भएको छ। कात्तिक शुक्ल पञ्चमीदेखि चतुर्दशीसम्म केदारनाथ देवताको विशेष पूजाआजासहित यो मेला लाग्ने गर्दछ।
​‘जामाको जात्रा’ का नामले प्रख्यात यस मेलामा देवताको पूजाआजा, धामीको नाच तथा परम्परागत डेउडा खेलको विशेष रौनक रहने गर्दछ। कमलबजार नगरपालिका–७, जामा गाउँमा लगातार १० दिनसम्म केदारनाथ र छडाल देवताको ‘धेवर’ (देवताको थानमा खेलिने विशेष नाच/प्रार्थना) लगाई त्रयोदशीका दिन राति ‘खला नाच्ने’ परम्परा रहेको केदारनाथ देवताका पुजारी खगेन्द्र उपाध्यायले जानकारी दिनुभयो।
​स्थानीय जानकार महेन्द्र खतिवडाका अनुसार मेलाको नवौँ दिन (त्रयोदशी) तीनतले ठूला घरबाट छडाल देवताले पानी खाने र केदार देवता बाघ–बिरालोको रूपमा प्रस्तुत हुने रोचक धार्मिक परम्परा छ। सो दिन तीनतले ठूला घरबाट छडाल देवता झन्करे ढोलीले पानी खाने र केदार देवता इन्द्रे कामी र बुदे कामी बाघ–बिरालोको रूपमा प्रस्तुत हुने रोचक धार्मिक परम्परा रहेको छ।
मेलाको अन्तिम दशौं दिन अर्थात् चतुर्दशीका दिन धामीहरु ईन्द्रे कामी, बुदे कामी, झंकरे ढोली,प्रेम ढोली लगायतका धामीहरू घण्टौँसम्म काम्दै नाच्ने र राति यस क्षेत्रकै सबैभन्दा ठूलो र अन्तिम जात्रा सम्पन्न हुनेछ। देवताका धामीहहरुले बाघ र विरालाको चाल सहितको विशेष धामीझाँक्री नाँच सो मेलाको आकर्षण रहेको अर्का स्थानीय धनराज विकको भनाइ छ ।
​त्यसअघिका आठ दिनसम्म हरेक दिन देवता काम्ने, पूजाआजा गर्ने, साँझपख धेवर लगाउने र बेलुकीपख सामूहिक डेउडा खेल्ने प्रचलन रहेको स्थानीय भीम खतिवडाले जानकारी दिनुभयो। यस वर्षको तालिकाअनुसार मंसिर ६ गते राति खला नाच्ने र मंसिर ७ गते केदार माडुमा ह्युम (यज्ञ/होम) गरिनेछ। त्यस्तै, छडाल देवताको मुख्य पूजा भने मंसिर ८ गते पूर्णिमाको दिन सम्पन्न हुनेछ।
​बडी केदारनाथसँगको धार्मिक सम्बन्ध र सांस्कृतिक महत्त्व
सुदूरपश्चिमको डोटेली संस्कृति र लोकपरम्परामा आधारित यस देवता नाचको डोटीको प्रसिद्ध धार्मिक स्थल ‘बडी केदारनाथ’ सँग गहिरो ऐतिहासिक तथा धार्मिक साइनो रहेको छ। बडी केदारकै एक प्रमुख शाखा तथा शक्तिका रूपमा अछामको जामामा केदारनाथको पूजाआजा गर्ने गरिन्छ। बडी केदारनाथमा जस्तै यहाँ पनि सात्विक विधिबाट पूजा गरिन्छ र पशुबलि पूर्ण रूपमा निषेध छ।
भक्तजनहरूले केदारनाथलाई दूध, घिउ र शुद्ध नैवेद्य मात्र चढाउने र सोही प्रसाद ग्रहण गर्ने गर्दछन्। केदारनाथ देवताको दर्शन तथा पूजापाठ गर्नाले सन्तान, अन्न र पशुधन लाभ हुने बलियो धार्मिक जनविश्वास रहिआएको छ। मेला भर्नका लागि रोजगारी तथा बसाइँसराइका क्रममा जिल्ला बाहिर रहेका स्थानीयहरू गाउँ फर्किएका छन् भने छिमेकी जिल्ला डोटी, सुर्खेत, दैलेख र कैलालीबाट समेत श्रद्धालु भक्तजनहरू आउने क्रम सुरु भइसकेको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण जामा गाउँमा पछिल्लो समय सडक पहुँच विस्तार भएसँगै दर्शनार्थी र मेला अवलोकनकर्ताहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको स्थानीय भीम खतिवडा बताउनुहुन्छ। यस वर्षको मेलामा सुदूरपश्चिमका चर्चित स्थानीय देउडा खेलाडी तथा गायक–गायिकाहरूको समेत विशेष प्रस्तुति रहने भएकाले मेला थप उल्लासमय हुने अपेक्षा गरिएको छ। सोहि दिन डोटी, बड्डि केदारनाथ र कैलालीको बर्दगोरीया गाउँपालिका-१ मुडा, कट्टिपुरमा पनी संस्कृतिक तथा धार्मिक मेला लाग्ने गर्दछ ।