अछाम : सिंहदरबारमा बसेर विकासका योजना र नागरिकका समस्या बुझ्ने परम्पराभन्दा फरक शैली अपनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य टीका सङ्ग्रौला (ज्वाला) अछामका गाउँबस्तीमै पुग्नुभएको छ। जिल्लाका १० वटै स्थानीय तहमा पुगेर उहाँले विकास निर्माणको वास्तविक अवस्था, वर्षौंदेखि अलपत्र परेका आयोजना र नागरिकले भोगिरहेका समस्याबारे स्थलगत जानकारी लिनुभएको हो।
करिब दुई सातादेखि अछामका विभिन्न गाउँबस्तीमा सक्रिय रहनुभएकी सांसद सङ्ग्रौलाले विकास आयोजनाको अनुगमनसँगै स्थानीय नागरिकका गुनासा, अपेक्षा र सुझावसमेत प्रत्यक्ष रूपमा सुन्नुभएको छ। उहाँको यो भ्रमण औपचारिक भेटघाटमा मात्र सीमित नरही जिल्लाको विकासको वास्तविक अवस्था पहिचान गर्ने र समस्या समाधानका सम्भावित उपाय खोज्ने प्रयासका रूपमा अघि बढेको छ।
पञ्चदेवल विनायक नगरपालिकाको कुजेडामा कर्णाली नदीको कटानबाट प्रभावित नागरिकका समस्या हुन् वा तुर्माखाँदको जङ्गलघाट क्षेत्रका विकासका आवश्यकता, उहाँले विभिन्न बस्तीमा पुगेर स्थानीयका कुरा सुन्नुभएको छ। ढकारी, कमलबजार, मङ्गलसेन, वान्नीगढी जयगढ, मेल्लेख, साँफेबगर, चौरपाटी र रामारोशनका विभिन्न स्थानमा पुगेर विकास निर्माणको अवस्थाबारे जानकारी लिनुभएको हो।
अछामको विकाससँग प्रत्यक्ष सरोकार राख्ने बुढीगङ्गा जलविद्युत् आयोजना, साँफेबगर विमानस्थल, पुष्पलाल मध्यपहाडी लोकमार्ग, सेती लोकमार्ग, गैरीटाँड–जङ्गलघाट–चिसापानी सडक, कमलबजार–ढकारी सडक, साँफेबगर–चौरपाटी सडक, जयगढ–रामारोशन सडक तथा ऐतिहासिक अछाम दरबारलगायतका आयोजनाको अवस्थाबारे उहाँले चासो राख्नुभएको छ।
विकासका नाममा बजेट खर्च भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेका आयोजना, निर्माण सुरु भएर अधुरै रहेका संरचना तथा शिलान्यासपछि अलपत्र परेका स्वास्थ्य भवनलगायतका पूर्वाधारका विषयमा समेत उहाँले स्थानीयसँग छलफल गर्नुभएको छ।
स्थलगत अनुगमनका क्रममा नागरिकले सडक, यातायात, स्वास्थ्य, शिक्षा, विद्युत्, खानेपानी, रोजगारी र सरकारी सेवा प्रवाहसँग सम्बन्धित विभिन्न समस्या उठाएका छन्। ती समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउने तथा संसद् र सरकारसमक्ष नागरिकका आवाज पुर्याउने सांसद सङ्ग्रौलाको भनाइ छ।
उहाँले अछामको विकास केवल राजनीतिक प्रतिबद्धता र भाषणले सम्भव नहुने उल्लेख गर्दै त्यसका लागि परिणाममुखी काम, जवाफदेहिता र सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ।
“म राजनीति गर्न मात्र होइन, अछामको समग्र विकास र निकासका लागि जनताको प्रतिनिधिका रूपमा संसद्मा पुगेकी हुँ,” उहाँले भन्नुभएको छ।
सांसद सङ्ग्रौलाले विकास र समृद्धिका सवालमा राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ। व्यक्तिगत तथा राजनीतिक स्वार्थभन्दा माथि उठेर जिल्लाको साझा हितका लागि एकजुट हुनुपर्ने उहाँको धारणा छ।
स्थानीय नागरिकसँगको छलफलसँगै उहाँले पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय तहका अगुवासँग आन्तरिक भेटघाट र छलफलसमेत गर्नुभएको छ।
अछामका १० वटै स्थानीय तहका नागरिकबाट प्राप्त समस्या र सुझावलाई व्यवस्थित रूपमा सम्बन्धित निकायसम्म पुर्याउने तथा जिल्लाका प्राथमिकताप्राप्त आयोजना कार्यान्वयनका लागि पहल गर्ने उहाँको प्रतिबद्धता छ।
विकासका योजना कागजमा होइन, नागरिकको जीवनमा देखिनुपर्छ भन्ने अपेक्षाबीच सांसदको यो स्थलगत भ्रमणले अछामका अधुरा आयोजना, कमजोर पूर्वाधार र नागरिकका वर्षौंदेखिका समस्यालाई पुनः बहसको केन्द्रमा ल्याएको छ। अब नागरिकले अनुगमनसँगै त्यसको परिणाम र समस्या समाधानका लागि हुने पहलको प्रतीक्षा गरेका छन्।


