तिहार हाम्रो नेपाली समाजको एउटा महान् सांस्कृतिक पर्व हो। यो केवल घरमा बत्ती बाल्ने, फूलमाला लगाउने, मिठा परिकार खाने र रमाइलो गर्ने पर्व मात्र होइन। तिहार हाम्रो सामाजिक सद्भाव आपसी प्रेम भाइचारा, पारिवारिक सम्बन्ध र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिको पहिचान पनि हो। तर आजभोलि तिहार मनाउने शैलीमा आएको परिवर्तनसँगै यसको मौलिकता र सांस्कृतिक महत्त्व बिस्तारै हराउँदै गएको महसुस हुन थालेको छ।
कुनै समय थियो, तिहार आउनुअघि नै गाउँघरमा छुट्टै उत्साह र उमङ्ग देखिन्थ्यो। घरआँगन लिपपोत गर्ने, सयपत्री र मखमली फूलका माला गाँस्ने, दियो बाल्ने, देउसी–भैलोको तयारी गर्ने र आफन्त तथा छरछिमेकसँग खुसी साटासाट गर्ने परम्परा थियो। गाउँका युवायुवती, बालबालिका र अग्रजहरू सबै मिलेर मौलिक भाकामा देउसी–भैलो खेल्थे। मादल, बाँसुरी र परम्परागत बाजाको धुनले गाउँघर नै गुञ्जायमान हुन्थ्यो। देउसी–भैलो केवल मनोरञ्जनको माध्यम थिएन, त्यो त सामाजिक एकता, सामूहिक सहभागिता र आपसी सम्बन्ध बलियो बनाउने एउटा सुन्दर माध्यम थियो।
तर अहिले समय फेरिएको छ। तिहारको मौलिकता विस्तारै आधुनिकताको छायामा पर्दै गएको छ। परम्परागत देउसी–भैलोको ठाउँमा आधुनिक गीत, चर्को आवाजका साउन्ड सिस्टम र देखावटी प्रतिस्पर्धाले प्राथमिकता पाउन थालेका छन्। चाडपर्वको वास्तविक भावना र सांस्कृतिक महत्त्वभन्दा सामाजिक सञ्जालमा फोटो, भिडियो र देखावटी रमझमलाई बढी महत्त्व दिन थालिएको छ।
अर्कोतर्फ, चाडपर्वमा अनावश्यक खर्च गर्ने, अरूको देखासिकी गर्ने र आर्थिक हैसियतभन्दा माथि उठेर प्रतिस्पर्धा गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ। तिहारको वास्तविक सुन्दरता महँगा उपहार, महँगो सजावट र खर्चिलो भोजभतेरमा होइन, परिवारसँग बिताएको समय, आफन्तसँगको आत्मीयता र समाजमा बाँडिएको खुसीमा हुन्छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन।
हाम्रो संस्कृति केवल किताबमा लेखेर वा भाषण गरेर जोगिँदैन। संस्कृति व्यवहारमा बाँच्नुपर्छ। नयाँ पुस्तालाई तिहारको महत्त्व, देउसी–भैलोका मौलिक गीत, परम्परागत बाजागाजा, संस्कार र सामाजिक सद्भावबारे सिकाउनु आजको आवश्यकता हो। आधुनिकतालाई अपनाउनु गलत होइन, तर आधुनिकताको
तिहार सबैको साझा पर्व हो। यसले जात, वर्ग, क्षेत्र र आर्थिक अवस्थाभन्दा माथि उठेर आपसी सद्भाव र सम्मानको सन्देश दिनुपर्छ। चाडपर्वमा कसैलाई पनि विभेद, अपमान र आर्थिक बोझको अनुभूति हुनु हुँदैन। सबैले आफ्नो क्षमताअनुसार खुसी साट्न पाउने वातावरण निर्माण गर्नु नै तिहारको सुन्दर पक्ष हो।
अन्त्यमा, समय परिवर्तन हुँदै जान्छ, पुस्ता परिवर्तन हुँदै जान्छन् र जीवनशैली पनि बदलिँदै जान्छ। तर हाम्रो मौलिक संस्कृति, पहिचान र परम्परा हराउनु हुँदैन। हामी आधुनिक बनौँ, शिक्षित बनौँ र समयअनुसार अगाडि बढौँ, तर आफ्नो जरा नबिर्सौँ।
तिहारलाई केवल रमाइलो गर्ने पर्व होइन, संस्कृति जोगाउने, सम्बन्ध जोड्ने, सद्भाव बढाउने र पुस्तौँदेखिको पहिचान हस्तान्तरण गर्ने पर्व बनाऔँ
-मनिष विक


