कविता
म भोटेकोशीमा बाढि आए जसरी आउने छैन
म भुकम्पले हल्लाए जसरी आउने छैन
म सिकार गर्न नसक्ने बाघ बनेर आउने छैन
म गोली बिनाको बन्दुक लिएर आउने छैन
यदि समयले बोलाए
मेरो नेतृत्व
कुर्सीको लागि हुने छैन,
पद र प्रतिष्ठाको लागि हुने छैन।
जब समाजलाई मेरो आवश्यकता पर्नेछ,
त्यही बेला मेरो आवाज उठ्नेछ,
त्यही बेला मेरो कदम अघि बढ्नेछ।
जब अन्यायले टाउको उठाउनेछ,
म चुप लागेर बस्ने छैन।
जब कमजोरको आवाज दबाइने छ,
म उसको आवाज बन्ने छु।
जब सत्य एक्लो हुनेछ,
म सत्यको पक्षमा उभिनेछु।
जब न्याय नै अन्याय मा पर्छ
जेन्जी भएर उभिनेछु
समयको माग मेरो नेतृत्व
भीड पछ्याउने नेतृत्व होइन,
भीडलाई सही बाटो देखाउने नेतृत्व हुनेछ।
सैद्धांतिक भाषणमा होइन,
जनताको दुःख र पीडामा देखिनेछ।
जहाँ अधिकार खोसिन्छ,
त्यहाँ मेरो प्रश्न हुनेछ।
जहाँ विभेद हुन्छ,
त्यहाँ मेरो प्रतिरोध हुनेछ।
जहाँ आशा मर्न थाल्छ,
त्यहाँ मेरो प्रयास हुनेछ।
मलाई नेता बन्न हतार छैन,
तर समाजलाई नेता आवश्यक परेको दिन
म पछि हट्ने छैन।
मेरो नेतृत्वको अर्थ
अरूभन्दा माथि उभिनु होइन,
आवश्यक परेको बेला
अरूको साथमा उभिनु हो।
समयले बोलाएपछि होइन,
समाजले आवश्यक ठानेपछि
मेरो नेतृत्व सुरु हुनेछ।
र त्यो नेतृत्व
मेरो होइन,
जनताको हुनेछ।
नितिन कुवॅर
कानून विद्यार्थी तथा सामाजिक अभियान्ता
साँफेबगर -३ अछाम


