अछामको ढकारी गाउँपालिका–१ का २८ वर्षीय बृख बहादुर बुढाको भिरबाट खसेर दुःखद निधन भएको छ। आर्थिक अवस्था कमजोर भएका कारण उनको शवको पोस्टमार्टमसमेत समयमै हुन नसक्दा केही समय जिल्ला अस्पतालको शवगृहमा राखिएको थियो। तर, सहयोगी मनहरूको साथ र सहयोगपछि अन्ततः पोस्टमार्टम गरी उनको शव घर पठाइएको छ । मृतक बृखका बुवा गंगाराम बुढासँग छोराको अन्तिम संस्कार गर्ने खर्चसमेत नहुँदा परिवार गहिरो पीडामा परेको थियो। परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले अन्तिम संस्कारका लागि आवश्यक रकम जुटाउनसमेत कठिन भएको थियो । यस्तो दुःखद परिस्थितिमा देश तथा विदेशमा रहेका सहयोगी मनहरूले मानवीय भावना प्रस्तुत गर्दै करिब ६५ हजार भन्दा बढी रुपैयाँ सहयोग गरेका छन ्। उक्त सहयोगले शोकमा डुबेको परिवारलाई केही राहत मिलेको छ भने बृखको शव मंगलसेनस्थित जिल्ला अस्पतालबाट ढकारीस्थित घर पु¥याउन सम्भव भएको छ । घटनापछि गम्भीर अवस्थामा रहेका बृखलाई राति नै जिल्ला अस्पताल मंगलसेन ल्याइएको थियो। चिकित्सकहरूले रातभर उनलाई बचाउन अनेक प्रयास गरे पनि सफल हुन सकेनन्। शनिबार बिहान सवा ९ बजेतिर बृखले संसार छाडे । छोरालाई बचाउन नसक्दाको पीडाले रन्थनिएका गंगाराम बुढा छोराको शव घरसम्म लैजान, कात्रो किन्न र दाहसंस्कार गर्न आवश्यक रकम नहुँदा शनिबार दिनभर अस्पताल परिसरमा छटपटाइरहेका थिए । उनले आफ्नो आसपासमा भेटिने हरेक व्यक्तिलाई समस्या सुनाउँदै सहयोगको याचना गरिरहेका थिए ।
‘पैसाकै अभावले मैले छोरो बचाउन सकिनँ,’ गंगारामले भावुक हुँदै भने, ‘डाक्टरले राति नै ठूलो अस्पताल लैजान भनेका थिए, तर मसँग पैसा थिएन ।’
छोराको मृत्युपछि शव घरसम्म लैजान आर्थिक सहयोग गर्ने सबैप्रति उनले धन्यवाद व्यक्त गरेका छन्। सहयोगबाट संकलित रकममध्ये अस्पताल आउँदा उधारो रहेको २० हजार रुपैयाँ जिप भाडा तिर्न र बाँकी रकम शव घरसम्म लैजान खर्च भएको उनले बताए। तर, छोराको अन्त्येष्टि तथा काजकिरियामा लाग्ने खर्च कसरी जुटाउने भन्ने चिन्ताले उनलाई अझै छाडेको छैन । बृख गंगारामका जेठा छोरा थिए। भारतमा मजदुरी गर्दै आएका उनी करिब पाँच महिनाअघि मात्रै घर फर्किएका थिए। उनकै कमाइबाट परिवारको गुजारा चल्दै आएको थियो। बृखको असामयिक निधनसँगै परिवारले आर्थिक सहारा मात्र होइन, भविष्यको आशासमेत गुमाएको छ। गंगारामका पाँच, सात र ११ वर्षका अन्य तीन छोरा छन ्। उनीसँगै भिरबाट खसेर घाइते भएका ३१ वर्षीय गणेश बुढाको अवस्था भने सामान्य रहेको बताइएको छ। उनीहरू करिब १५० मिटर तल भिरमा खसेका थिए ।
आर्थिक अभावले नागरिकको जीवन र परिवारको भविष्य खोसिनु हुँदैन !
बृखको निधनले एउटा परिवारको सहारा गुमेको छ । तर, उनको परिवारले भोगिरहेको पीडाले हाम्रो समाज, राज्य र स्वास्थ्य प्रणालीप्रति गम्भीर प्रश्नसमेत उठाएको छ । उपचारका लागि अस्पताल पुगेका नागरिक आर्थिक अभावकै कारण थप पीडामा पर्नुपर्ने, आवश्यक उपचारका लागि समयमै ठूलो अस्पताल लैजान नसक्ने र मृत्यु भएपछि शव घरसम्म पुर्याउनसमेत सहयोगको याचना गर्नुपर्ने अवस्था अत्यन्तै दुःखद छ । कुनै पनि नागरिकले आर्थिक अभावकै कारण ज्यान गुमाउन नपरोस्। कुनै पनि आमाबुवाले पैसाको अभावमा आफ्नै सन्तानको उपचार गर्न नसकेको पीडा भोग्न नपरोस्। कुनै पनि परिवारले प्रियजनको मृत्यु भएपछि अन्तिम संस्कारका लागि हात फैलाउनुपर्ने बाध्यता नहोस ।
स्वास्थ्य उपचार नागरिकको आधारभूत अधिकार हो । गरिबीका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न राज्यले प्रभावकारी स्वास्थ्य सेवा, आर्थिक सहायता र आपतकालीन उपचारको सुनिश्चितता गर्न आवश्यक छ। आर्थिक रूपमा कमजोर नागरिकका लागि उपचार, अस्पतालसम्मको पहुँच र आपतकालीन उद्धार सहज बनाउनु राज्यको जिम्मेवारी हो । बृखको परिवारलाई सहयोग गर्ने देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार । दुःखको घडीमा मानवीय भावना र सहयोगले एउटा परिवारलाई ठूलो राहत दिएको छ। तर, यस्ता घटनामा नागरिकको जीवन बचाउन सहयोगी मनहरूको प्रतीक्षामा मात्र बस्नुपर्ने अवस्था अन्त्य हुनु आवश्यक छ ।


