अछाम । मंगलसेन नगरपालिकाले नगरका १४ वटै वडामा वडा तहका युवा सञ्जाल गठन गर्ने भएको छ। युवाको नेतृत्व तथा व्यक्तित्व विकाससँगै उनीहरूलाई सामाजिक कार्यमा अग्रसर गराउने र युवाका सवाललाई स्थानीय तहमा प्रभावकारी रूपमा उठान गर्ने उद्देश्यले नगरपालिकाले वडा तहमा युवा सञ्जाल गठन गर्न लागेको हो ।
पहिलो चरणमा सबै वडामा युवा सञ्जाल गठन गरी त्यसको संस्थागत विकास गर्ने नगरपालिकाको योजना रहेको छ। बिहीबार नगरपालिकामा सम्पन्न युवा सञ्जालसँगको समन्वय बैठकमा वडा तहदेखि नगर तहसम्म युवा सञ्जाललाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।
नगरपालिकाले कात्तिक महिनाभित्र सबै वडामा वडा तहका युवा सञ्जाल गठन गरिसक्ने र मंसिरको दोस्रो साता नगरस्तरीय बृहत् युवा भेला आयोजना गर्ने निर्णय गरेको छ। उक्त भेलामार्फत आगामी दिनमा नगरपालिकाले निर्माण गर्ने युवा नीतिका विषयमा युवासँग व्यापक छलफल तथा सुझाव संकलन गरिने जनाइएको छ ।
बैठकलाई सम्बोधन गर्दै मंगलसेन नगरपालिकाका नगर प्रमुख पदमबहादुर बोहराले युवाले समाज परिवर्तनको नेतृत्व गर्न सक्ने भएकाले उनीहरूको क्षमता र व्यक्तित्व विकासमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो। उहाँले युवालाई केवल कार्यक्रममा सहभागी गराउनेभन्दा पनि नेतृत्वदायी भूमिकामा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख बोहराले भन्नुभयो, “युवाको क्षमता, ऊर्जा र सिर्जनशीलतालाई समाज विकासमा उपयोग गर्न सक्नुपर्छ। त्यसका लागि युवाले आफ्नो व्यक्तित्व र नेतृत्व क्षमता विकास गर्न आवश्यक छ । विगतमा नगरपालिकाले युवालक्षित विभिन्न कार्यक्रम सञ्चालन गरे पनि अपेक्षाअनुसार प्रभावकारी परिणाम देखिन सकेन । अब त्यस्तो अवस्था दोहोरिन नदिन कार्यक्रमको नेतृत्व र कार्यान्वयनमा स्वयं युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्छ।”
उहाँले पछिल्लो समय युवाहरू विभिन्न किसिमका कुलत तथा दुव्र्यसनमा फस्ने क्रम बढिरहेकाले त्यसविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्न युवा सञ्जाललाई सक्रिय हुन आग्रह गर्नुभयो। “युवालाई सही बाटोमा अघि बढाउन उनीहरूकै सहभागिता र नेतृत्व आवश्यक छ। कुलत तथा दुव्र्यसनविरुद्ध सचेतना फैलाउनेदेखि समुदायमा हुने सामाजिक गतिविधिको नेतृत्वसम्म युवाले गर्नुपर्छ,” नगर प्रमुख बोहराले भन्नुभयो ।
समुदायमा हुने हरेक सकारात्मक गतिविधिमा युवाको नेतृत्व र सहभागिता बढाउन नगरपालिकाले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। “युवाले अघि सारेका र समुदायको हितमा केन्द्रित अभियानमा स्थानीय सरकारको पूर्ण साथ र सहयोग रहनेछ। युवा सञ्जाललाई प्रभावकारी र जिम्मेवार संस्थाका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध छ,” उहाँले भन्नुभयो ।
सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष बृखबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न बैठकमा नगर उपप्रमुख संगीता रावल सोडारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगाना, प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारी, शिक्षा शाखा प्रमुख दीपक भण्डारी, जिल्ला युवा सञ्जालका अध्यक्ष कमल रावल, रोजगार शाखा प्रमुख कृष्णबहादुर सोडारी, नगरस्तरीय युवा सञ्जालका अध्यक्ष श्यामसुन्दर रावल, पूर्व नगर अध्यक्ष जगत भण्डारी, सेफ गल्स परियोजनाका कार्यक्रम अधिकृत गौरी भण्डारी लगायत युवाहरूको सहभागिता रहेको थियो । मंगलसेन नगरपालिकाको आयोजना, कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था कोइका, युएनएफपीए तथा गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग र सहकार्यमा वाक नेपालद्वारा सञ्चालित किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण सेफ गल्स परियोजनाको साझेदारीमा बैठकको आयोजना गरिएको हो ।


