साँफेबगर । साँफेबगर नगरपालिका–१४ पातलकोटमा स्तनपान कक्ष निर्माणका लागि पैरवी अभियान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
डब्लूएचएच, पीसविन, वाक नेपाल र समविकास नेपालको साझेदारीमा सञ्चालित पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशील कृषि प्रणालीमा महिला सहभागिता (WE-CAN) परियोजनाको सहयोग तथा वडा कार्यालय पातलकोटको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्तनपान कक्षको आवश्यकता, महत्व तथा निर्माणका लागि गर्नुपर्ने पहलका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा समुदायमा आधारित ३ वटा संस्थाहरु CBO ले पैरवीका सवालको पहिचान गर्दै समुदायमा रहेका समस्याका बारेमा, आफुले गर्ने कामकाहरु र स्तनपान कक्ष निर्माणका लागि आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए। समूहका प्रतिनिधि तथा सहभागी महिलाहरूले वडामा व्यवस्थित स्तनपान कक्ष निर्माण गर्न वडा कार्यालयसँग आग्रह गरेका थिए।
कार्यक्रममा समविकास नेपालका पुन्ना कुँवरले स्तनपान कक्षको महत्व, आवश्यकता तथा WE-CAN परियोजनाअन्तर्गत सञ्चालन भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो।
वडा अध्यक्ष सञ्जु थापाले वडामा स्तनपान कक्ष निर्माणका लागि वडा कार्यालय सकारात्मक रहेको बताउँदै छिट्टै आवश्यक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “आमा र शिशुको स्वास्थ्य तथा सहजतालाई ध्यानमा राखेर स्तनपान कक्ष निर्माणलाई प्राथमिकतामा राखेका छौँ। आवश्यक प्रक्रिया पूरा गरी छिट्टै वडामा स्तनपान कक्ष निर्माण गर्नेछौँ।”
स्तनपान कक्ष निर्माण भएपछि सार्वजनिक तथा वडा कार्यालयमा सेवा लिन आउने आमाहरूलाई शिशुलाई सुरक्षित, स्वच्छ र सहज वातावरणमा स्तनपान गराउन सहयोग पुग्ने बताउनु भयो । विशेषगरी आमाको गोपनीयता कायम राख्दै शिशुलाई समयमै स्तनपान गराउन सकिने भएकाले स्तनपान कक्ष बालबालिकाको पोषण र स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिन्छ।
WE-CAN परियोजनाको सहयोग तथा वडा कार्यालयको समन्वयमा पातलकोटमा पुरुषद्वारा खाना तथा पोषिलो जाउलो बनाउने प्रतियोगिता, रैथाने बालीसम्बन्धी पैरवी अभियान, मानिस र वन्यजन्तुको सहअस्तित्वका लागि वडा स्तरीय नवप्रवर्तनात्मक कार्यक्रम, समुदायमा आधारित संस्थाहरूको बैठक तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरू समेत सम्पन्न भइसकेका छन्।
कार्यक्रमले स्थानीय तह, समुदाय र सरोकारवालाबीच सहकार्य बढाउँदै महिला तथा बालबालिकाको पोषण, स्वास्थ्य र अधिकारका विषयमा स्थानीयस्तरमा पैरवीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


