साँफेबगर नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खनन तथा संकलनमा अस्थायी रोक


पैरवी खबर

साँफेबगर । साँफेबगर नगरपालिकाले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) को उत्खनन तथा संकलन कार्य अस्थायी रूपमा बन्द गर्न सूचना जारी गरेको छ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७९) को दफा ४ को उपदफा (१६) बमोजिम प्रत्येक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ।

उक्त कानुनी व्यवस्था अनुसार साँफेबगर नगरपालिका क्षेत्रभित्रका नदी तथा खोला–खोल्सीहरूबाट नदीजन्य पदार्थ उत्खनन गर्ने कार्य २०८३ असार १ गतेदेखि २०८३ भदौ ३१ गतेसम्म पूर्ण रूपमा बन्द रहने नगरपालिकाले जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओली द्वारा हस्ताक्षरित सूचनामा तोकिएको अवधिभित्र कसैले पनि नदीजन्य पदार्थ उत्खनन तथा संकलन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

वर्षायाममा नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने, वातावरणीय सन्तुलनमा असर पर्न सक्ने तथा प्राकृतिक विपद्को जोखिम बढ्ने भएकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाउने व्यवस्था गरिएको हो। नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायी, ठेकेदार, उद्योगी तथा सर्वसाधारणलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ।