जाल्पादेवीमा पुनः छाउगोठ भत्काउने अभियान सुरु


पैरवी खबर

अछाम, साउन १० — दश वर्षअघि छाउगोठमुक्त घोषणा गरिएको साँफेबगर नगरपालिका–२ जाल्पादेवीमा पुनः केही स्थानमा छुटफुट रूपमा छाउगोठ भेटिएपछि स्थानीय समुदायले ती गोठ भत्काउने अभियान सुरु गरेको छ।

वडा कार्यालयको आयोजना तथा सम विकास नेपालको समन्वयमा जनप्रतिनिधि, स्थानीयवासी, महिला सञ्जाल, शिक्षक र युवाको संयुक्त टोलीले वागभिडी र झकाले टोलमा रहेका छाउगोठ भत्काएको हो।

अभियानका क्रममा केही परिवारले महिनावारी भएका महिला तथा किशोरीलाई घरमै सुरक्षित रूपमा राख्ने प्रतिबद्धता जनाएका छन् भने केहीले आफ्नै हातले छाउगोठ भत्काएका छन्।
स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालन गरिएको अभियानले छाउप्रथाविरुद्ध पुनः सचेतना फैलाउँदै महिलाको सम्मान, सुरक्षा र समान अधिकार सुनिश्चित गर्ने सन्देश दिएको छ।