चिकित्सक आन्दोलनको प्रभाव: बयालपाटा अस्पतालको ओपीडी सेवा आज पूर्ण रूपमा बन्द


पैरवी खबर

अछाम, साउन १२ — अछामस्थित बयालपाटा प्रादेशिक अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमण र असुरक्षाको विरोधमा नेपाल चिकित्सक संघले घोषणा गरेको देशव्यापी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आज (साउन १२ गते) बहिरङ्ग (ओपीडी) सेवा पूर्ण रूपमा बन्द रहने जनाएको छ।
अस्पताल प्रशासनले आइतबार जारी गरेको अत्यावश्यक सूचनामा नेपाल चिकित्सक संघले साउन ११ गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार देशभर सञ्चालन गरिएको आन्दोलनका कार्यक्रमअन्तर्गत बयालपाटा प्रादेशिक अस्पतालको ओपीडी सेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिएको हो।
यद्यपि आकस्मिक (इमर्जेन्सी), प्रसूति, भर्ना भएका बिरामी तथा जीवनरक्षक सेवा भने नियमित रूपमा सञ्चालन हुने अस्पतालले स्पष्ट पारेको छ।
अस्पताल प्रशासनले ओपीडी सेवा बन्द हुँदा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सबै सरोकारवालाको सहयोग र समझदारीको अपेक्षा गरेको जनाएको छ।
अस्पतालले अत्यावश्यक बाहेकका स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीलाई सूचनाको पालना गर्न अनुरोध समेत गरेको छ।