अछाम- अछामको पंचदेवल विनायक नगरपालिका वडा नम्वर ८ को बारलामा सुतेको समयमा ढुंगा लागेर दुई जनाको ज्यान गएको छ। शुक्रबार विहान करिव ३ बजेको समयमा सेलापानीस्थित चुरखोली टोलमा उक्त घटना भएको हो।
वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार मृत्यु हुनेमा श्री खनालको श्रीमती ३५ वर्षीय निम खनाल र ८ वर्षीया कविता भण्डारी छन्। कविता गोरे भण्डारीकी छोरी हुन्। गोरेको श्रीमती ३६ वर्षीया रत्ना भण्डारी शक्त घाइते भएकी छिन्। उनलाई उपचारका लागि सुर्खेत लगिँदै गरेको स्थानीय डण्डी संज्यालले जानकारी दिए। निम र रत्ना दुबै महिला महिनावारी भएको समयमा घरदेखि टाढा खेतबारीमा त्रिपाल टाँगेर सुतेको अवस्थामा घट्ना भएको वडा अध्यक्ष शाहीले बताए। कविता आमासँगै सुत्न गएकी बुझिएको छ।
गाउँ माथिको भिरबाट ढुंगा त्रिपालमाथि खसेको शाहीले बताए। उनका अनुसार दुबै महिलालाई महिनावारी भएको आज ६ दिन पुगेको थियो। घाइते रत्को टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको बुझिएको छ।
उक्त स्थानमा अनुसन्धान तथा कानूनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेक बहादुर देउवाको नेतृत्वमा प्रहरी खटिएको जनाइएको छ। भण्डारी परिवारको स्थायी ठेगाना मगलसेन नगरपालिका वडा नं ६ रहेको बुझिएको छ। उनीहरु केही महिना पहिले मात्रै ससुराली गाउँमा गएर बसेको बुझिएको वडा अध्यक्ष शाहीले बताए।
गोठहरु भत्काइए पनि महिनावारी भएको समयमा कोहो पाल टाँगेर, कोही डोकोमा त कोही सौचालयमासमेत सुत्ने गरेको शाहीले जानकारी दिए। ‘जति जे गरे पनि महिलाहरु महिनावारी भएको समयमा घरमा बस्न मान्दैनन्’, शाहीले भने,’ज्यानै गुमाउँदा पनि सचेत नहुँदा छाउपडि प्रथा हटाउन निकै चुनौति बनेको छ।’