आज श्रीकृष्ण जन्माष्टमी, देशभर श्रद्धापूर्वक मनाइँदै


पैरवी खबर

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन्।
द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। सोही आधारमा आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’का रूपमा मनाउने गरिन्छ।
जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा विशेष पूजा, प्रवचन, भजन तथा कीर्तन आयोजना भइरहेका छन्। भक्तजनहरूले व्रत बस्ने तथा रातभर जाग्राम बसेर भगवान् श्रीकृष्णको आराधना गर्ने परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्ण भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएको हो। अन्याय, अत्याचार र आसुरी प्रवृत्तिबाट मानव समाजलाई मुक्त गराउन श्रीकृष्णले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको विश्वास गरिन्छ।