खेर जाने कपडाबाट टिस्यु पेपर बक्स, महिलालाई आत्मनिर्भरताको सीप सिकाईदै


पैरवी खबर

एकेन्द्र महता
साँफेबगर । घर तथा उद्योगबाट खेर जाने कपडालाई पुनः प्रयोग गरी टिस्यु पेपर राख्ने आकर्षक बक्स निर्माण गर्ने सीप अछामका महिलाले सिकेका छन्। अछामको साँफेबगर नगरपालिका वडा नम्बर ४ मा सञ्चालित दिदीबहिनी जैविक प्याड उद्योगमा आवद्ध सात जना महिलालाई खेर जाने कपडाको उपयोग गरी टिस्यु पेपर बक्स तथा अन्य सामग्री निर्माण सम्बन्धी दुई दिने आधारभूत तालिम दिईएको हो। प्रशिक्षक मनोज परियार र गीता परियारले सञ्चालन गरेको तालिममा महिलाहरूलाई प्रयोग भई सकेका तथा खेर जाने कपडालाई उपयोगी सामग्रीमा रूपान्तरण गर्ने व्यावहारिक सीप सिकाईएको थियो। तालिम पछि सहभागी महिलाहरूले टिस्यु पेपर राख्न प्रयोग हुने दुई किसिमका बक्स निर्माण गर्न सक्ने भएका छन्। सम विकास नेपालको आयोजनामा सञ्चालन भएको तालिममा सहभागी चन्द्रकला कडायतले आफूहरूले सीप सिकेर खेर जाने कपडाको प्रयोगबाट टिस्यु पेपर राख्ने बक्स बनाउन सिकेको बताउनु भयो। घर तथा अन्य ठाउँमा प्रयोग हुन नसक्ने अवस्थामा रहेका कपडालाई समेत उपयोगी सामग्रीका रूपमा प्रयोग गर्न सकिने ज्ञान तालिमबाट प्राप्त भएको उहाँको भनाई रहेको छ। खेर जाने कपडालाई पनि उपयोग गरेर टिस्यु पेपर राख्ने बक्स बनाउन सिक्यौँ, उहाँले भन्नु भयो, यससँगै हामीले उद्योग मार्फत सेनेटरी प्याड पनि बनाउँदै आएका छौँ। नयाँ–नयाँ सामग्री बनाउन सक्ने सीप प्राप्त भए पछि भविष्यमा आम्दानीका अवसर पनि बढ्ने विश्वास लागेको छ। तालिममा सहभागी भग देवी कुँवरका अनुसार उद्योगमा आवद्ध महिलाहरूले टिस्यु पेपर बक्स मात्र नभई विभिन्न दैनिक प्रयोगका सामग्री समेत निर्माण गर्दै आएका छन्। उनीहरूले सेनेटरी प्याड, प्याड होल्डर, सानो तथा ठूलो रुमाल, साबुन राख्ने थैली, लुगा सुकाउने डोरी लगायतका सामग्री सिलाउने गरेका छन्। स्थानीय स्तरमै उपलब्ध स्रोत र खेर जाने सामग्रीको उपयोग गरी उत्पादन गर्न सकिने वस्तुको दायरा बढाउँदै लैजाने उद्धेश्यले महिलालाई विभिन्न सीप प्रदान गरिएको कुँवरले बताउनु भयो। यसले महिलाको सिर्जनशीलता र उद्यमशीलता विकाससँगै वातावरण संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। संस्थाका कर्मचारी पशुपति साउँदले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम आयोजना गरिएको बताउनु भयो। महिलासँग सीप भए पनि त्यसलाई उत्पादन र आम्दानीसँग जोड्न आवश्यक भएकाले व्यावहारिक तालिम सञ्चालन गरिएको उहाँको भनाई रहेको छ। महिलालाई केवल तालिम दिएर मात्र पुग्दैन, सिकेको सीपलाई उत्पादन र आयआर्जनसँग जोड्नु पर्छ, उहाँले भन्नु भयो, यसै उद्धेश्यले खेर जाने कपडाको पुनःप्रयोग गरी विभिन्न उपयोगी सामग्री बनाउन सक्ने सीप सिकाएका हौँ। तालिममा सात जना महिलाको सहभागिता रहेको थियो। तालिम मार्फत सिकेको सीपलाई निरन्तर अभ्यास गरी व्यावसायिक उत्पादनसँग जोड्न सके महिलाका लागि थप रोजगारी र आम्दानीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। संस्थाका अर्का कर्मचारी सुरेश स्वारका अनुसार तालिम सञ्चालनका लागि करिब २४ हजार रुपैयाँ लगानी गरिएको थियो। सीमित लगानीमा सञ्चालन गरिएको तालिमले महिलाहरूलाई दीर्घकालीन रूपमा उपयोगी हुने सीप प्रदान गरेको उहाँले बताउनु भयो। तालिममा सिकेका सीपलाई व्यवहारमा उतारेर उत्पादन गर्न सकियो भने यसले महिलाहरूको आयआर्जनमा प्रत्यक्ष सहयोग पु¥याउनेछ, स्वारले भन्नु भयो, हाम्रो उद्धेश्य महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउनुका साथै स्थानीय स्तरमै उत्पादन बढाउनु हो। वि.सं. २०७६ सालमा स्थापना भएको दिदीबहिनी जैविक प्याड उद्योगले यस अघि महिलाका लागि सुरक्षित तथा वातावरणमैत्री जैविक सेनेटरी प्याड उत्पादन गर्दै आएको छ। उद्योग स्थापनाका क्रममा घरेलु तथा साना उद्योग कार्यालयबाट अनुदान सहयोग प्राप्त भएको थियो। उद्योगले सेनेटरी प्याडसँगै हाते ब्याग, झोला, पर्स तथा अन्य सिलाईजन्य सामग्री उत्पादन गर्दै आएको छ। पछिल्लो तालिम पछि टिस्यु पेपर राख्ने दुई किसिमका बक्स उत्पादनको सीप थपिएको छ। सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट महिला उद्यम मध्ये एक मानिने उक्त उद्योगलाई सातौँ राष्ट्रिय महिला अधिकार दिवस–२०८२ को अवसरमा राष्ट्रिय महिला उद्यमी महिला समुन्नति पुरस्कार–२०८२ बाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सम्मान गरेको थियो। उद्योगमा हाल पाँच देखि छ जनाले नियमित रूपमा रोजगारी पाउँदै आएका छन्। उद्योगमा आवद्ध महिलाहरूले आफ्नै गाउँ ठाउँमा रोजगारीसँगै सीप, आत्म विश्वास र उद्यमशीलता विकास गर्ने अवसर पाएको बताएका छन्। स्थानीय स्रोत, श्रम र सीपको उपयोग गरेर उत्पादन गरिएका सामग्रीको बजार विस्तार गर्न सके थप महिलालाई रोजगारी दिन सकिने उद्योगको विश्वास छ। स्थानीय सरकार, विद्यालय तथा सर्वसाधारणले स्थानीय उत्पादनलाई प्राथमिकता दिए महिला उद्यमशीलताको विकाससँगै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने देखिन्छ। खेर जाने सामग्रीलाई पुनः प्रयोग गरी उपयोगी वस्तु उत्पादन गर्ने यस्ता तालिमले एकातिर महिलाको आर्थिक सशक्तिकरणमा सहयोग पुर्याउने र अर्कोतिर फोहोर न्यूनीकरण तथा वातावरण संरक्षणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। सीपलाई उत्पादन र बजारसँग जोड्न सके साँफेबगरका महिलाले स्थानीय आवश्यकताका सामग्री उत्पादन गर्दै आत्मनिर्भरताको यात्रालाई अझ फराकिलो बनाउन सक्ने छन्।