अछामका युवाहरूको पहलमा बाढीपहिरो पीडितलाई साढे ४ लाखको राहत


पैरवी खबर

अछाम । अछामका युवाहरूको पहलमा बाढी तथा पहिरो प्रभावित नागरिकका लागि करिब रु. ४ लाख ५० हजार बराबरको राहत सामग्री हस्तान्तरण गरिएको छ।
“Lifeline Achham” को नेतृत्वमा सञ्चालन गरिएको राहत संकलन तथा वितरण अभियानमा C.I.P. Study Abroad & Immigration Pvt. Ltd., JNK Enterprises, Tikathali, Katki Chiya, Rohit Memorial Club Jayagadh र Sanfebagar Youth United Club (SYUC) लगायतका संस्था तथा युवाहरूको सहकार्य रहेको थियो।
संकलित राहत सामग्री नुवाकोटको बिदुरस्थित जिल्ला समन्वय समितिमार्फत बाढी तथा पहिरो प्रभावित नागरिकका लागि हस्तान्तरण गरिएको हो। अभियानमा संकलित रकममध्ये बाँकी रु. ३० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत सहयोग गरिएको जनाइएको छ।
अभियानमा सहभागी युवाहरूले विपद्को समयमा सबैलाई आफ्नो क्षमता र स्रोतअनुसार सहयोग गर्न आग्रह गरेका छन्। उनीहरूले आगामी दिनमा पनि विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा स्वयंसेवी सेवा प्रदान गर्न आफूहरू तयार रहेको बताएका छन्।
युवाहरूले बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गरेका छन्। साथै, प्रभावित क्षेत्रमा अनावश्यक रूपमा घुम्न, फोटो खिच्न वा भीड बढाउन नजान र उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्वयंसेवकलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन आग्रह गरेका छन्।