साँफेबगर – अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलमा शनिबार कोदो दिवस–२०८३ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। WE CAN परियोजनाको आयोजना तथा WHH, पिसविन, वाक नेपाल र समविकास नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
कोदो बाली संरक्षण र प्रबर्द्धन साथै पोषण सुरक्षा सम्बर्द्धन भन्ने नाराका साथ आयोजित कार्यक्रममा कोदोको उत्पादन, संरक्षण, बजारीकरण र पोषणमा यसको महत्व बारे छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि, शिक्षक, महिला समूह तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा गाउँ कार्यपालिका सदस्य कौशी कुँवरले स्थानीय बालीको संरक्षण आजको आवश्यकता भएको बताउनु भयो। उहाँले कोदो केवल परम्परागत अन्न मात्र नभई पोषण, स्वास्थ्य र खाद्य सुरक्षाको आधार भएकाले यसको उत्पादन बढाउन सबैले भूमिका खेल्नु पर्ने बताउनु भयो। स्थानीय सरकारले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने र स्थानीय उत्पादनको प्रयोग बढाउन पहल गर्ने उहाँको भनाई रहेको थियो। उहाँले युवालाई व्यावसायिक कृषि र रैथाने बालीको संरक्षणमा जोडिन आग्रह गर्नु भयो। यस्तै बैजनाथ माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राकेश कुँवरले विद्यालय तह देखि नै रैथाने बालीको महत्व बारे विद्यार्थीलाई जानकारी गराउन आवश्यक रहेको बताउनु भयो। कोदो जस्ता पौष्टिक बालीको संरक्षणले भावी पुस्तालाई स्वस्थ जीवनशैली तर्फ प्रेरित गर्ने उहाँको भनाई थियो। विद्यालयमा पोषण शिक्षा र स्थानीय खाद्य परिकारको प्रबर्द्धन गरिनु पर्नेमा उनले जोड दिनु भयो। कृषिसँग शिक्षा जोड्न सके गाउँको समग्र विकासमा टेवा पुग्ने उहाँले बताउनु भयो। यस्तै कार्यक्रममा शिक्षिका सुमित्रा कुँवरले कोदो पौष्टिक, स्वास्थ्यवद्र्धक र वातावरणमैत्री बाली भएकाले यसको प्रयोग बढाउनु पर्ने बताउनु भयो। उहाँले बालबालिकाको पोषण सुधारका लागि विद्यालय तथा घर परिवारमा कोदोबाट बनेका परिकारको प्रयोग बढाउनु पर्ने धारणा राख्नु भयो। जलवायु परिवर्तनको असरका बीच कोदो खेती तुलनात्मक रूपमा टिकाउ भएकाले यसको संरक्षण आवश्यक रहेको उहाँको भनाई रहेको थियो। स्थानीय बालीको सम्मान र प्रयोग बढे किसानको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने उहाँले उल्लेख गर्नु भयो। यस्तै समविकास नेपालका बोर्ड सदस्य बसन्ती बोहराले रैथाने बालीको संरक्षणले खाद्य आत्मनिर्भरता र पोषण सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने बताउनु भयो। उहाँले कोदो खेतीलाई आधुनिक प्रविधिसँग जोड्दै व्यावसायिक बनाउन आवश्यक रहेको धारणा राख्नु भयो। किसानलाई गुणस्तरीय बीउ, प्रविधि र बजारको पहुँच विस्तार गर्न सबै पक्ष बीच सहकार्य आवश्यक रहेको उहाँको भनाई रहेको थियो। यस्ता सचेतनामूलक कार्यक्रमले स्थानीय उत्पादन प्रति आकर्षण बढाउने र कृषकलाई उत्साहित बनाउने विश्वास उहाँले व्यक्त गर्नु भयो। कार्यक्रममा सहभागीहरूले कोदो खेतीको विस्तार, गुणस्तरीय उत्पादन, मूल्य अभिवृद्धि र बजार व्यवस्थापनमा जोड दिएका थिए। साथै, स्थानीय बालीको संरक्षण मार्फत पोषण सुरक्षा, आयआर्जन वृद्धि तथा जलवायु परिवर्तनसँग अनुकूल कृषि प्रणाली विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो। कार्यक्रमको लक्ष्य र उद्धेश्यको बारेमा समविकास नेपालका दिल कुमारी विकले जानकारी दिनु भएको थियो।


