साँफेबगर-३ मा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड


पैरवी खबर

साँफेबगर – अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा शनिबार कोदो दिवस–२०८३ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। WE CAN परियोजनाको आयोजना तथा WHH, पिसविन, वाक नेपाल र समविकास नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

कोदो बाली संरक्षण र प्रबर्द्धन साथै पोषण सुरक्षा सम्बर्द्धन भन्ने नाराका साथ आयोजित कार्यक्रममा कोदोको उत्पादन, संरक्षण, बजारीकरण र पोषणमा यसको महत्व बारे छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि, शिक्षक, महिला समूह तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। वडा अधयक्ष कुल बहादुर कुँवरले स्थानीय बालीको संरक्षण आजको आवश्यकता भएको बताउनु भयो। उहाँले कोदो केवल परम्परागत अन्न मात्र नभई पोषण, स्वास्थ्य र खाद्य सुरक्षाको आधार भएकाले यसको उत्पादन बढाउन सबैले भूमिका खेल्नु पर्ने बताउनु भयो। स्थानीय सरकारले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने र स्थानीय उत्पादनको प्रयोग बढाउन पहल गर्ने उहाँको भनाई थियो। कुँवरले विद्यालय तह देखि नै रैथाने बालीको महत्व बारे विद्यार्थीलाई जानकारी गराउन आवश्यक रहेको बताउनु भयो। उहाँले बालबालिकाको पोषण सुधारका लागि विद्यालय तथा घरपरिवारमा कोदोबाट बनेका परिकारको प्रयोग बढाउनु पर्ने धारणा राख्नु भयो। जलवायु परिवर्तनको असरका बीच कोदो खेती तुलनात्मक रूपमा टिकाउ भएकाले यसको संरक्षण आवश्यक रहेको उहाँको भनाई रहेको थियो। स्थानीय बालीको सम्मान र प्रयोग बढे किसानको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने उहाँले उल्लेख गर्नु भयो। उहाँले कोदो खेतीलाई आधुनिक प्रविधिसँग जोड्दै व्यावसायिक बनाउन आवश्यक रहेको धारणा राख्नु भयो। किसानलाई गुणस्तरीय बीउ, प्रविधि र बजारको पहुँच विस्तार गर्न सबै पक्ष बीच सहकार्य आवश्यक रहेको उहाँको भनाई रहेको थियो। यस्ता सचेतनामूलक कार्यक्रमले स्थानीय उत्पादन प्रति आकर्षण बढाउने र कृषकलाई उत्साहित बनाउने विश्वास उहाँले व्यक्त गर्नु भयो। कार्यक्रममा सहभागीहरूले कोदो खेतीको विस्तार, गुणस्तरीय उत्पादन, मूल्य अभिवृद्धि र बजार व्यवस्थापनमा जोड दिएका थिए। साथै, स्थानीय बालीको संरक्षण मार्फत पोषण सुरक्षा, आयआर्जन वृद्धि तथा जलवायु परिवर्तनसँग अनुकूल कृषि प्रणाली विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो। कार्यक्रममा पिसविनका सुरेन्द्र सेरालाले कोदोको बारेमा जानकारी तथा प्रशिक्षण गराउनु भएको थियो। कार्यक्रममा समविकास नेपालका पुन्ना कुँवर संचारकर्मी लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सहजकर्ता शर्मिला शाहले गर्नु भएको थियो ।