अछाम, साउन १६ – अछामको साँफेबगर नगरपालिका–४ मा सञ्चालित दिदीबहिनी जैविक प्याड उद्योगले स्थानीय स्तरमै उत्पादन हुने वातावरणमैत्री जैविक प्याडको प्रयोग बढाउन स्थानीय तह, विद्यालय तथा उपभोक्तासँग आग्रह गरेको छ। उद्योगले स्थानीय उत्पादनको प्रयोगले महिला स्वास्थ्य, वातावरण संरक्षण र स्थानीय अर्थतन्त्रलाई एकसाथ मजबुत बनाउने जनाएको छ।
वि.सं. २०७६ सालमा स्थापना भएको उद्योगले महिलाका लागि सुरक्षित र वातावरणमैत्री जैविक प्याड उत्पादन गर्दै आएको छ। उद्योग स्थापनाका क्रममा घरेलु तथा साना उद्योग कार्यालयबाट अनुदान सहयोग प्राप्त भएको थियो।
सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट महिला उद्यममध्ये एक मानिने यस उद्योगलाई सातौँ राष्ट्रिय महिला अधिकार दिवस–२०८२ को अवसरमा “राष्ट्रिय महिला उद्यमी महिला समुन्नति पुरस्कार–२०८२” बाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ले सम्मान गरेको थियो।
उद्योगमा हाल ५ देखि ६ जना कर्मचारीले नियमित रोजगारी पाएका छन् । कर्मचारीहरु भन्नुहुन्छ : यस उद्योगले हामीलाई आफ्नै गाउँठाउँमा रोजगारीसँगै आत्मनिर्भर बन्ने अवसर दिएको छ। यहाँ काम गरेर हामीले आम्दानी मात्र होइन, सीप, आत्मविश्वास र महिलाको उद्यमशीलताबारे धेरै कुरा सिकेका छौँ।
हामीले उत्पादन गर्ने जैविक प्याड महिलाको स्वास्थ्यका लागि सुरक्षित र वातावरणमैत्री भएकाले यसको प्रयोग बढ्दै गएको देख्दा गर्व महसुस हुन्छ। स्थानीय सरकारले, विद्यालयहरूले र सर्वसाधारणले स्थानीय उत्पादनलाई प्राथमिकता दिए यस उद्योग अझै विस्तार हुनेछ, थप महिलाले रोजगारी पाउनेछन् र स्थानीय अर्थतन्त्र पनि मजबुत बन्नेछ।
हामी सबैलाई आफ्नै जिल्लामा उत्पादन भएका जैविक प्याडको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न अनुरोध गर्दछौँ।
उद्योगका अनुसार चालु आर्थिक वर्षमा करिब रु. २३ लाख बराबरको जैविक प्याड बिक्री भएको छ भने हाल उद्योगमा १२ हजार ३ सय ३३ प्याड स्टक रहेको छ।
अछामसँगै छिमेकी जिल्लाहरूमा समेत उद्योगका प्याडको माग बढ्दै गएको जनाइएको छ। केही स्थानीय तह र विद्यालयले नियमित रूपमा प्याड खरिद गरिरहेका छन् भने अन्य स्थानीय तह, विद्यालय तथा संस्थाहरूलाई पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिई जैविक प्याड खरिद गर्न उद्योगले अनुरोध गरेको छ।
उद्योगले स्थानीय उत्पादनको प्रयोग बढेमा महिला उद्यमशीलताको विकास, रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको सुदृढीकरण तथा प्लास्टिकजन्य फोहोर न्यूनीकरणमार्फत वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
उद्योगले “स्थानीय स्तरमा उत्पादन भएका प्याडको प्रयोग गरौँ, वातावरणको संरक्षण गरौँ” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै स्थानीय सरकार, शैक्षिक संस्था तथा सर्वसाधारणलाई आफ्नै जिल्लामा उत्पादित सामग्रीलाई प्राथमिकता दिन आग्रह गरेको छ। स्थानीय उत्पादनको प्रवर्द्धनले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


