विवाहको उमेर २० बर्ष तल नघटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


पैरवी खबर

अछाम – विवाह गर्ने न्यूनतम् उमेर २० वर्षभन्दा तल नघटाउन माग गर्दै विभिन्न संघसंस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। नेपालका सातै प्रदेशमा बालविवाहविरुद्ध अभियान सञ्चालन गर्दै आएका ३० वटा संघसंस्थाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन्।

संसदीय उपसमितिले विवाह गर्ने उमेर २० वर्षबाट घटाएर १८ वर्षमा ल्याउन सिफारिस गरेपछि देशभर यसको विरोध भइरहेको छ। बालअधिकारकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाले २० वर्ष नै कायम राख्नुपर्ने माग गर्दै आएका छन्।

यस्तै, देशभरका ६०० भन्दा बढी किशोर–किशोरीले पनि जिल्ला हुलाक कार्यालयमार्फत प्रधानमन्त्रीलाई चिठी पठाएका छन्। उनीहरूले बालविवाह न्यूनीकरण गर्न विवाहको न्यूनतम् उमेर घटाउनु गलत हुने भन्दै आफ्ना भावना व्यक्त गरेका छन्।

संघसंस्थाले विवाहको उमेर घटेमा किशोरीहरूको शैक्षिक अवसरमा असर पर्ने, स्वास्थ्य जोखिम बढ्ने तथा बालविवाहलाई थप प्रोत्साहन गर्ने सम्भावना रहेको बताएका छन्। उनीहरूले नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता र बाल अधिकारसम्बन्धी कानुनअनुसार विवाहको न्यूनतम् उमेर २० वर्ष नै कायम राख्नुपर्नेमा जोड दिएका छन्।

सरकारले विवाहको उमेर घटाउने प्रस्तावमाथि पुनर्विचार गर्ने वा सिफारिसलाई स्वीकार गर्ने भन्ने विषयमा निर्णय गरेको छैन। तर, यस विषयमा सामाजिक तथा कानुनी बहस चर्किरहेको छ।