नेपालमा ४४ वर्षमा ४१ हेलिकोप्टर दुर्घटना, ९४ जनाको मृत्यु


पैरवी खबर

नेपालमा हवाई उडान २००६ सालदेखि सुरु भएको हो । नेपाल नागरिक उड्‌डयन प्राधिकरणका अनुसार नेपालमा पहिलोपटक १२ पुस २०३६ मा हेलिकोप्टर दुर्घटना भएको थियो । त्यसयताका ४४ वर्षमा ४१ वटा हेलिकोप्टर दुर्घटना भइसकेका छन् ।

४१ मध्ये २० वटा दुर्घटनामा मानवीय क्षति भएको छ । हालसम्म नेपाल हेलिकोप्टर दुर्घटनामा परी ९४ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । २१ वटा दुर्घटनामा भने पाइलट र यात्रु घाइते भएका थिए ।

हेर्नुहोस्, नेपालमा मानवीय क्षति हुने गरी भएका हेलिकोप्टर दुर्घटनाका शृङ्खलाः

पहिलोपटक १२ पुस २०३६ मा लाङटाङमा हेलिकोप्टर दुर्घटनाः ६ जनाको मृत्यु ।

१४ असोज २०५४ मा थुप्तेन चोलिङ हेलिकोप्टर दुर्घटनाः एक जनाको मृत्यु, चार जना घाइते ।

एसियन एयरलाइन्सको हेलिकोप्टर ७ कात्तिक २०५५ मा मूलखर्कमा दुर्घटना ।

२७ कात्तिक २०५८ मा फिस्टेल एयरको हेलिकोप्टर रारातालमा दुर्घटनाः चार जनाको मृत्यु, दुर्घटनामा पूर्वअधिराजकुमारी प्रेक्षा शाहको पनि निधन ।

१४ असोज २०५९ मा सोलुखुम्बुमा एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटनाः ११ जनाको मृत्यु ।

१४ जेठ २०६० मा सिम्रिक एयरको हेलिकोप्टर सगरमाथा आधार शिविरमा दुर्घटनाः दुई जनाको मृत्यु ।

२१ पुस २०६१ मा एयर डाइनेस्टीको हेलिकोप्टर रामेछापमा दुर्घटनाः तीन जनाको मृत्यु ।

एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा पनि दुई जनाको मृत्यु ।

७ असोज २०६३ मा ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनाः तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोलविद् डा. हर्क गुरुङसहति २४ जनाको मृत्यु ।

२१ कात्तिक २०६७ मा फिस्टेल एयरको हेलिकोप्टर आमादब्लम हिमालमा दुर्घटनाः दुई जनाको मृत्यु ।

५ असार २०६७ मा हुम्लाको सिमीकोटमा फिस्टेलकै हेलिकोप्टर दुर्घटना । एक जनाको मृत्यु ।

१८ साउन २०७१ मा सिन्धुपाल्चोकमा फिस्टेलकै हेलिकोप्टर दुर्घटनाः एक जनाको मृत्यु ।

वैशाख २०७२ मा सिन्धुपाल्चोकको घोर्थलीमा भूकम्पपीडितका लागि राहत बोकेको अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटनाः ८ जनाको मृत्यु ।

१९ जेठ २०७२ मा माउन्टेन हेलिकोप्टर सिन्धुपाल्चोकको यमुना डाँडामा दुर्घटनाः चार जनाको मृत्यु ।

२४ साउन २०७३ मा फिस्टेलको हेलिकोप्टर नुवाकोटको बेतिनीमा दुर्घटनाः सात जनाको मृत्यु ।

२९ साउन २०७५ मा मनाङ एयरको हेलिकोप्टर हुम्लाको हिल्सामा दुर्घटनाः एक जनाको मृत्यु ।

२३ भदौ २०७५ मा अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटनाः ६ जनाको मृत्यु ।

१५ फागुन २०७५ मा ताप्लेजुङको सिस्नेभिरमा हेलिकोप्टर दुर्घटनाः पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको मृत्यु ।

२२ वैशाख २०८० मा सिम्रिक एयरको हेलिकोप्टर संखुवासभाको सिप्रुङमा दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाइते ।

२६ असार २०८० मा मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटनाः पाइलट चेतबहादुर गुरुङसहित ६ जनाको मृत्यु ।