घटस्थापनाको आगमनसँगै सुरु भएको दशैँको रौनक, घरआँगनको लिपपोत, घरघरमा जमरा बाटोघाटोको सरसफाइ र गाउँबस्तीको चहलपहलले मनै लोभ्याएको थियो। परदेशिएका नेपालीहरू घर फर्किए, सुनसान गाउँबस्तीमा फेरि जीवनको रङ भरियो। बजारमा किनमेल गर्नेहरूको घुइँचो, घरघरमा बाँधिएका बोका–खसी, टाढाटाढाबाट माइती भेट्न आएका चेलीहरू अनि वर्षौँपछि भेटिएका दाजुभाइको आत्मीय मिलन— आहा ! कति सुन्दर, कति मनमोहक थियो दशैँको आगमन !
कसैका आँगनमा हाँसो गुञ्जियो, कसैका घरमा मीठामीठा परिकार पाके। बालबालिकाका आँखामा नयाँ लुगाको रहर, आमाबुबाका मनमा सन्तान भेट्ने खुसी अनि दाजुभाइका हृदयमा वर्षौँदेखिको दूरी मेटिएको आनन्द। लाग्थ्यो, दशैँले सारा गाउँलाई एउटै परिवारमा बाँधिदिएको छ। तर यही खुसीको भीडमा कतै नदेखिने पीडाका कथाहरू पनि लुकेका थिए।
आखिर, के दशैँ सबैका लागि समान खुसी बोकेर आउँछ त?
कसैका घरमा खसी काटिँदै गर्दा कसैको चुलोमा आगो बलेको छ कि छैन? कसैका छोराछोरी नयाँ लुगा लगाएर रमाउँदै गर्दा गरिबका सन्तान पुरानै लुगामा मन बुझाउन बाध्य त छैनन्? कसैका थालमा अनेक परिकार सजिँदा कसैका झुपडीमा एक छाक खान पुग्ने अन्न छ कि छैन?
धनीका लागि दशैँ एउटा उत्सव होला, तर गरिबका लागि यो वर्षभरि साँचेर राखेको आशा र अभिलाषाको पर्व हो। छोराछोरीलाई एक जोर नयाँ लुगा किनिदिने, एक छाक मीठो खाना खुवाउने र परिवारको मुहारमा क्षणभर भए पनि खुसी ल्याउने सपना बोकेर गरिबले वर्षभरि पसिना बगाएको हुन्छ। दशैँमा एक किलो मासु किन्नसमेत उसले आफ्नो गोजी मात्र होइन, मनको विवशता पनि हेर्नुपर्छ। आफ्ना सन्तानका रहर पूरा गर्न नसक्दा बाबुआमाको छातीभित्र कति पीडा लुकेको हुन्छ, त्यो आँसुले भिजेका आँखाले मात्र बताउन सक्छन्।
यता सम्पन्नका घरमा हरेक दिनजस्तै भोजभतेर र परिकारको चाङ लाग्छ, उता गरिबका घरमा दशैँको खुसी पनि खर्चको हिसाबकिताबसँग गाँसिएको हुन्छ। कसैलाई दशैँ कहिले आयो, कहिले गयो भन्ने पत्तै हुँदैन; कसैले भने दशैँ आउला र छोराछोरीको मुहारमा खुसी छर्न सकिएला भनेर वर्षभरि बाटो हेरिरहेको हुन्छ।
दशैँ एउटै हो, तर कसैका लागि उत्सव, कसैका लागि अभाव र कसैका लागि मनभित्रै दबिएको पीडा !
दशैँ केवल नयाँ लुगा लगाउने, मीठो खाने र रमाइलो गर्ने पर्व मात्र होइन। यो त टाढिएका मनहरू नजिकिने, टुटेका सम्बन्धहरू जोडिने, ठूलाबडाबाट आशीर्वाद लिने र सानालाई माया बाँड्ने पवित्र अवसर हो। अझ त्योभन्दा ठूलो कुरा, आफ्नो खुसीसँगै अरूको दुःख देख्न सक्ने मानवीय हृदयको परीक्षा पनि हो।
हेराहेर गर्दै दशैँ आयो, हेराहेर गर्दै गयो। गाउँघरको रौनक फेरि बिस्तारै सेलाउँदै छ। हिजो भरिभराउ भएका आँगनहरू फेरि सुनसान हुँदै छन्। आफन्तहरू आ–आफ्ना कर्मभूमितिर फर्किंदै छन्। घरमा वृद्ध आमाबुबाका आँखाले फेरि अर्को भेटको प्रतीक्षा गर्न थालेका छन्। दशैँले दिएका खुसीका पलहरू सम्झनामा बाँकी रहनेछन्, तर कतिपय घरमा अभावको पीडा भने जस्ताको तस्तै रहनेछ।
मनमा एउटै प्रश्न उठ्छ— हामीले दशैँ त मनायौँ, तर के कसैको निभ्न लागेको चुलो बाल्यौँ? के कसैका दुःखी आँखामा खुसीको उज्यालो छर्न सक्यौँ? के कसैका छोराछोरीको अधुरो रहर पूरा गर्न सक्यौँ?
दशैँको साँचो सुन्दरता महँगा लुगा, भव्य भोज र देखावटी रमझममा होइन; भोकाएको पेटलाई भोजन, नाङ्गो शरीरलाई लुगा र दुःखी मनलाई सहारा दिन सक्नुमा छ।
किनकि खुसी त्यतिबेला पूर्ण हुन्छ, जब आफ्नो घरको दियोसँगै छिमेकीको झुपडीमा पनि उज्यालो बल्छ। विजय त्यतिबेला सार्थक हुन्छ, जब अहङ्कारमाथि विनम्रता, स्वार्थमाथि मानवता र विभेदमाथि समानताको विजय हुन्छ।
दशैँ त आयो, गयो; तर यसले छोडेर गएको सन्देश हाम्रो हृदयमा सधैँ जीवित रहोस्। धनीको आँगनमा मात्र होइन, गरिबको झुपडीमा पनि खुसी फुलोस्। कुनै आमाको चुलो निभ्न नपरोस्, कुनै बालबालिकाको रहर अभावले मर्न नपरोस् र कुनै बाबुआमाले आफ्ना सन्तानको खुसीका लागि मनभित्रै आँसु लुकाउन नपरोस्।
हेर्दाहेर्दै गयो दशैँ, तर गरिबको आँखामा अर्को दशैँको आशा अझै बाँकी छ।
ज्ञानेन्द्र बहादुर ख्वास
साँ न पा ७ ककडसात अछाम


