समविकास नेपालको १५औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न


पैरवी खबर

साँफेबगर । समविकास नेपाल अछामको १५औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाले वर्षभरि सञ्चालन गरेका गतिविधि, उपलब्धि, चुनौती तथा आर्थिक अवस्थाबारे समीक्षा गर्दै संस्थालाई थप पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ।

कार्यक्रम समविकास नेपालका अध्यक्ष दुधकला बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो। प्रतिनिधिसभा सदस्य भरतकुमार स्वारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साँफेबगर नगरपालिकाका उपप्रमुख शिव कुँवर र अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावल, चौरपाटी गाउँपालिकाका कार्यवाहक अध्यक्ष वीरबहादुर थापा, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख पविन्द्र बम, खप्तड गुल्मका गुल्मपति राजेन्द्र बहादुर कुँवर, राष्ट्रिय अनुसन्धानका प्रमुख अशोक पौडेल, नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक प्रकाश शाह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष, पत्रकार,जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी, सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा समविकास नेपालका पशुपति कुँवरले संस्थाको परिचय, गतिविधि, उपलब्धि, चुनौती तथा आर्थिक पक्षबारे जानकारी प्रस्तुत गर्नुभएको थियो। उहाँले संस्थाले सञ्चालन गरेका कार्यक्रम र समुदायमा परेको प्रभावबारे जानकारी गराउँदै आगामी दिनमा संस्थाका गतिविधिलाई अझ प्रभावकारी बनाउने विषयमा प्रकाश पार्नुभएको थियो।

समविकास नेपालले समुदायमा स्तनपान कक्षको निर्माण तथा प्रयोगलाई प्रोत्साहन गर्ने, मर्यादित महिनावारीसम्बन्धी सचेतना फैलाउने, जलवायु परिवर्तनका असर न्यूनीकरण, दिवा खाजा, रैथाने बालीको संरक्षण, जंगली जनावरबाट हुने क्षति नियन्त्रण, बाल विवाह न्यूनीकरण, महिला हिंसा न्यूनीकरण तथा वातावरण संरक्षणका क्षेत्रमा सकारात्मक काम गर्दै आएको छ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य भरतकुमार स्वारले संस्थाले समुदायको आवश्यकता र सामाजिक रूपान्तरणका क्षेत्रमा गर्दै आएका कामको प्रशंसा गर्दै आगामी दिनमा पनि स्थानीय समुदायको जीवनस्तर सुधार, वातावरण संरक्षण तथा सामाजिक सचेतना अभिवृद्धिमा निरन्तर योगदान पुर्‍याउनुपर्ने धारणा राख्नुभएको थियो।

त्यस्तै, विशिष्ट अतिथि साँफेबगर नगरपालिकाका उपप्रमुख शिव कुँवरले संस्थाले स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो। उहाँले संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउन पारदर्शिता, जवाफदेहिता र सरोकारवालाबीचको सहकार्य महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संस्थाकी सचिव जानकी बोहराले सहजीकरण गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाकी रुपा नेपालीले राख्नुभएको थियो।
वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षणले संस्थाका गतिविधि र उपलब्धिबारे सरोकारवालालाई जानकारी गराउनुका साथै आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।