अछाम,। मेल्लेख गाउँपालिकामा आयोजित चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि डडेलधुराको नवदुर्गा गाउँपालिकाले जितेको छ।
फाइनल खेलमा सल्यानको बनगाड कुपिण्डे नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै नवदुर्गाले उपाधि हात पारेको हो। उपाधिसँगै नवदुर्गाले नगद २ लाख ५१ हजार १०१ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगितामा द्वितीय भएको बनगाड कुपिण्डे नगरपालिकाले १ लाख ५१ हजार १०१ रुपैयाँ प्राप्त गरेको छ। त्यस्तै, तृतीय स्थान हासिल गरेको आयोजक मेल्लेख गाउँपालिकाले ८५ हजार १०१ रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त गरेको बान्नीगढी जयगढ गाउँपालिकाले २५ हजार १०१ रुपैयाँ नगद पुरस्कार हात पारेका छन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नवदुर्गाका शंकर साउँद घोषित भएका छन्। नवदुर्गाकै विरेन्द्र ऐर उत्कृष्ट सर्वर र सन्तोष खत्री उत्कृष्ट ब्लकर चुनिएका छन्।
त्यस्तै, बनगाड कुपिण्डेका प्रदिप थापा मगर उत्कृष्ट स्पाइकर र भरत विश्वकर्मा उत्कृष्ट सेटर घोषित भएका छन्। बान्नीगढी जयगढका नविन बोहोरा उत्कृष्ट डिफेन्सर बनेका छन्।
भदौ १७ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न स्थानीय तहका टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउँदलगायतले ट्रफी, मेडल तथा नगद पुरस्कार प्रदान गरेका छन्।


