कैलाली, भदौ २२ गते । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबिचको सहकार्यमा बनेको संयुक्त सरकारले प्रदेश सञ्चालनका लागि ४० बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।
मुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता खगराज भट्ट र नेकपा (एमाले) का संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलबिचको सहमतिका आधारमा सोमवार सार्वजनिक गरिएको कार्यक्रममा उत्पादन र रोजगारी वृद्धि, लगानी प्रवर्द्धन, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र सुशासनलाई प्राथमिकतामा राखिएको छ।
सरकारले ‘उत्पादन–स्वरोजगारी–आय’ लाई समृद्धिको मूल आधार बनाउँदै कृषि, उद्योग, पर्यटन, पूर्वाधार र सेवा क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्ने जनाएको छ।
मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारको बजेट भदौ मसान्तभित्रै आउने दाबी गर्नुभएको छ । मुख्यमन्त्री भट्टले भदौ मसान्तभित्रै बजेट फाष्ट ट्रयाकबाट ल्याउने बताउनुभयो । मन्त्रालयहरुलाई बजेट निर्माणका लागि दिने मार्ग निर्देशन समेत तयार रहेको मुख्यमन्त्री भट्टले बताउनुभयो । मुख्यमन्त्रीको तर्फबाट मन्त्रालयहरुलाई दिने नीतिगत निर्देशनको मस्यौदा पनि बनाइरहेको उहाँको भनाइ छ ।
बजेटमा रहेको बेथिति सामान्य तरिकाले समाधान हुन सक्ने अवस्था नरहेकोले केही दिन बढि लगाएर भएपनि शब्द–शब्द, वाक्य–वाक्यमा र बुँदा बुँदामा छलफल गरेर न्युनतम साझा कार्यक्रम तयार गरेको बताउनुभयो । अघिल्लो सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुन नसक्दा प्रदेश सरकार साउन १ गतेदेखि बजेट शून्यतामा छ ।


