नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा सहमति भएको छ। दुवै दलका शीर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्र सार्वजनिक भएपछि प्रदेश सरकार गठनको विषयले नयाँ राजनीतिक मोड लिएको छ।
सहमति पत्रमा विगतमा प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था तथा राजनीतिक प्रतिस्पर्धाबाट उत्पन्न समस्यालाई समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र तीव्र विकासलाई प्राथमिकतामा राखेर सहकार्य गर्ने उल्लेख गरिएको छ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने सहमति भएको छ।
यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिमा उल्लेख छ।


