सातै प्रदेशमा धेरै वर्षाको सम्भावना


पैरवी खबर

काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली भई हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर पूर्ण बदली भई अधिकांश स्थानमा वर्षाको हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ। साथै सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

भोलि (सोमबार) पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ। साथै सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी बर्षा हुने पूर्वानुमान छ ।

राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।

मंगलबार देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । साथै कोशी, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।