साँफेबगर – साँफेबगर नगरपालिका स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्षको योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।
साँफेबगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबारदेखि सञ्चालन भएको कार्यक्रमका क्रममा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूले आर्थिक वर्ष २०८२/०८३ मा गरेका काम, हासिल भएका उपलब्धि, सेवा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा विस्तृत समीक्षा गरिएको हो।
कार्यक्रममा साँफेबगर नगरपालिकाका १४ वटै वडामा रहेका स्वास्थ्य संस्था, साँफेबगर नगरपालिका स्वास्थ्य शाखा तथा बयलपाटा अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा, प्रगति, उपलब्धि, समस्या र चुनौतीका विषयमा जानकारी प्रस्तुत गरिएको थियो।
यस्तै, स्वास्थ्य कार्यालय अछामका प्रमुख सीमा थापाले जिल्लाको समग्र स्वास्थ्य अवस्थासँगै स्थानीय तहबाट प्रवाह भइरहेको स्वास्थ्य सेवाको अवस्था, उपलब्धि तथा सुधार गर्नुपर्ने विषयमा जानकारी दिनुभएको थियो।
कार्यक्रमको समापन गर्दै साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरले विभिन्न समस्या र चुनौतीका बाबजुद स्वास्थ्य संस्थाहरूले नागरिकलाई प्रभावकारी सेवा प्रदान गरिरहेको बताउनुभयो। उहाँले स्वास्थ्य सेवालाई अझ गुणस्तरीय, सहज र प्रभावकारी बनाउन स्थानीय सरकार, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
वार्षिक समीक्षा कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको थियो। उत्कृष्ट स्वास्थ्य संस्थातर्फ पातलकोट स्वास्थ्य चौकी प्रथम, नवाठाना स्वास्थ्य चौकी दोस्रो र बैजनाथ स्वास्थ्य चौकी तृतीय भएका छन्।
कार्यक्रममा स्वास्थ्य संस्थाहरूले वर्षभरि सेवा प्रवाहका क्रममा भोग्दै आएका समस्या, चुनौती तथा तिनको समाधानका उपायबारे समेत छलफल गरिएको थियो। साथै, आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवालाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने विषयमा योजना तर्जुमा गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
कार्यक्रममा साँफेबगर नगरपालिका उपप्रमुख शिवबहादुर कुँवर ‘शिलोज’, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओली, बयलपाटा अस्पतालका मेडिकल निर्देशक डा. मन्दिप पाठक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य साँफेबगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणनाथ योगीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक नरेश रावतले गर्नुभएको थियो।


