खाजाखर्च कटाएर रसुवाका बाढीपीडितलाई प्रगतिशिलका बालबालिकाको सहयोग


पैरवी खबर

अछाम — मंगलसेन नगरपालिका–१ मा रहेको प्रगतिशील आधारभूत विद्यालयका बालबालिकाले आफ्नो खाजाखर्च कटाएर रसुवाका बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन् । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयका बालबालिकाले घरबाट आमाबुबाले खाजाका लागि दिएको रकममध्ये एक दिनको खाजा नखाई उक्त रकम बाढीपीडितका लागि सहयोग गरेका हुन् ।
विद्यालयका शिक्षक हिम्मतबहादुर रावलका अनुसार विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा रकम संकलन गरी शिक्षकलाई दिएका थिए । विद्यार्थीबाट संकलित रकम नेपाल सरकारको राहत कोषमा जम्मा गरिएको शिक्षक रावलले बताउनुभयो । बालबालिकाले रसुवा लगायत बाढी प्रभावित जिल्लामा आफूजस्तै बालबालिका समस्यामा परेको भन्दै उनीहरूलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले साथीभाइबाट ५ सय ८५ रुपैयाँ संकलन गरी सहयोग गरेका हुन् । सानो उमेरमै विपद्मा परेका बालबालिकाप्रति सहानुभूति देखाउँदै आफ्नै खाजाखर्चबाट सहयोग गर्ने प्रगतिशील आधारभूत विद्यालयका विद्यार्थीहरूको यो कार्यले सामाजिक उत्तरदायित्व र मानवीय भावनाको उदाहरण प्रस्तुत गरेको छ ।