धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोसीमा आएको बाढीमा परी बेपत्ता भएका सुदूरपश्चिमका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि प्रभावकारी पहल गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको सुरक्षा समितिको बैठकमा उहाँले बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोत–साधन र सुरक्षा संयन्त्रको अधिकतम परिचालन गर्न निर्देशन दिनुभएको हो।
मुख्यमन्त्री भट्टले सम्भव भएसम्मका सबै उपाय अवलम्बन गर्दै खोज तथा उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउन आग्रह गर्नुभयो। साथै, सुदूरपश्चिममा बाढी तथा अन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै सबै सुरक्षा निकायलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन निर्देशन दिनुभयो।
बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा देखिने समस्या समाधान तथा लागूऔषध नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ। बैठकले भोटेकोसी बाढीमा बेपत्ता नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ।


