साँफेबगरको मेयर पदमा मानबहादुर कुँवरको उम्मेदवारी घोषणा, समृद्ध नगर बनाउने संकल्प


पैरवी खबर

अछाम — राष्ट्रिय स्वतन्त्र पार्टी बाट साँफेबगर नगरपालिका अछामको नगर प्रमुख (मेयर) पदमा नगर सभापति मानबहादुर कुँवरले सामाजिक संजाल मार्फत समृद्ध साँफेबगर निर्माण गर्ने संकल्पसहित आफ्नो एजेन्डा सार्वजनिक गरेका छन्।

कुँवरले सार्वजनिक गरेको पोस्टरमा भ्रष्टाचारको अन्त्य, अन्याय र अत्याचारको अन्त्य, सरकारी जग्गा अतिक्रमण नियन्त्रण तथा नदीले बगर बनाएका हजारौँ बिघा जमिनको संरक्षण र व्यवस्थापनलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन्।
त्यसैगरी, उनले नगरवासीलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने, युवालाई अवसर सिर्जना गरी विदेश पलायन बाट रोक्ने तथा एक्काइसौँ शताब्दीका चुनौतीसँगै समृद्ध साँफेबगर निर्माण गर्ने संकल्प प्रस्तुत गरेका छन्।

‘समृद्ध साँफेबगर, हाम्रो संकल्प’ भन्ने नारासहित सार्वजनिक गरिएको पोस्टरमा स्थानीय सरकारलाई सशक्त बनाउँदै नगरको विकास र समृद्धिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
कुँवरले सार्वजनिक गरेका एजेन्डामा सुशासन, सार्वजनिक सम्पत्तिको संरक्षण, शिक्षा, स्वास्थ्य, युवा रोजगारी तथा स्थानीय स्रोतसाधनको उचित व्यवस्थापनलाई मुख्य विषय बनाइएको छ।