प्रतिनिधिसभा सदस्य भरत कुमार स्वाँरले अछामको धार्मिक तथा पर्यटकीय क्षेत्र तितौडाको समग्र विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । तितौडा धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यसको योजनाबद्ध विकास गर्न सके अछाम जिल्लाकै पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुग्ने उहाँले बताउनुभयो ।
अछाम निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद स्वाँरले तितौडाको सम्भावनालाई व्यवहारमा उतार्न संघीय सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक बजेट तथा कार्यक्रमका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “तितौडा केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, अछामको पर्यटन विकास र आर्थिक समृद्धिको महत्वपूर्ण आधार पनि हो। यहाँको सम्भावनालाई सही ढंगले उपयोग गर्न सकिए जिल्लाकै पर्यटन क्षेत्रले नयाँ गति लिन सक्छ,” उहाँले भन्नुभयो ।
विगतदेखि नै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि विभिन्न ठाउँमा आवाज उठाउँदै आएको उल्लेख गर्दै सांसद स्वाँरले अहिले जनप्रतिनिधिका रूपमा तितौडाको विकासलाई प्राथमिकताका साथ अघि बढाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो। त्रिपुरेश्वरीमाई तितौडासँगै आसपासका अन्य धार्मिक क्षेत्रलाई समेत समेटेर एकीकृत विकासको अवधारणासहित अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। यसका लागि स्थानीय तह, प्रदेश तथा संघीय सरकारसँगै स्थानीय सरोकारवाला सबैले साझा प्रतिबद्धताका साथ काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
आइतबार आश्विन चतुर्दशीका अवसरमा तितौडामा आयोजित मेलासम्बन्धी कार्यक्रममा बोल्दै सांसद स्वाँरले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । कार्यक्रममा ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले तितौडाको विकासका लागि स्थानीय सरकारले आफ्नो स्रोतसाधनले भ्याएसम्म हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताउनुभयो। पालिकाका अन्य विकास निर्माणका आवश्यकता हुँदाहुँदै पनि तितौडाको धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राखेर आवश्यक बजेट व्यवस्थापन गर्ने प्रयास भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।
तर, तितौडाजस्तो सम्भावनायुक्त क्षेत्रको विकासमा संघ र प्रदेश सरकारले अपेक्षित चासो नदेखाएको भन्दै अध्यक्ष साउदले असन्तुष्टि व्यक्त गर्नुभयो। सुदूरपश्चिम प्रदेशको अघिल्लो सरकारले तितौडाका लागि विनियोजन गरेको बजेटसमेत वर्तमान सरकारले कटौती गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो। “स्थानीय सरकारले आफ्नो क्षमताले भ्याएसम्म लगानी गरिरहेको छ। तर, यस्ता गौरवका योजनालाई प्रदेश र संघीय सरकारले प्राथमिकतामा राख्न सकेका छैनन्। बजेट कटौती गरेर होइन, आवश्यक स्रोत सुनिश्चित गरेर तितौडाको विकासलाई गति दिनुपर्छ,” अध्यक्ष साउदले भन्नुभयो । उहाँले तितौडाको विकासलाई कुनै एक स्थानीय तहको मात्र जिम्मेवारीका रूपमा नहेरी साझा गौरवको योजनाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष विमला कुमारी शाहीले तितौडाको धार्मिक तथा पर्यटकीय विकासका लागि सबै पक्षबाट सकारात्मक र समन्वयात्मक पहल आवश्यक रहेको बताउनुभयो। विगतको तुलनामा यस क्षेत्रमा विकासका काम अघि बढे पनि पर्यटन प्रवद्र्धनका लागि भइरहेका प्रयास पर्याप्त नभएको उहाँको भनाइ थियो। “तितौडाको विकासलाई अब सामान्य पूर्वाधार निर्माणमा मात्र सीमित राख्नु हुँदैन। यहाँको धार्मिक महत्व र पर्यटकीय सम्भावनालाई समेटेर विशेष योजना बनाउन सकिए यस क्षेत्रको विकासले थप गति लिन सक्छ,” उपाध्यक्ष शाहीले भन्नुभयो ।
अछाम बहुमुखी क्याम्पसका प्रमुख तथा तितौडाबारे जानकार डा. ध्रुवकुमार शाहीले तितौडाको योजनाबद्ध विकासले स्थानीय आर्थिक अवस्था सुधार गर्नुका साथै गरिबी र पछौटेपन न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। उहाँले तितौडालाई यस क्षेत्रको आस्था र पहिचानसँग जोडिएको महत्वपूर्ण धार्मिक धरोहरका रूपमा व्याख्या गर्दै यसको विकासलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
“तितौडाको विकास भनेको एउटा मन्दिर वा धार्मिक स्थलको विकास मात्र होइन, यो समग्र क्षेत्रको आर्थिक, सामाजिक र पर्यटकीय विकाससँग जोडिएको विषय हो। राज्यले यसको सम्भावना पहिचान गरी हरेक वर्ष आवश्यक बजेट र दीर्घकालीन योजना सुनिश्चित गर्न सके स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै अछामको समृद्धिमा समेत ठूलो योगदान पुग्न सक्छ,” डा. शाहीले भन्नुभयो । उहाँले तितौडाको धार्मिक महत्वलाई संरक्षण गर्दै आवश्यक पूर्वाधार निर्माण, प्रचारप्रसार तथा पर्यटनमैत्री वातावरण विकास गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
त्रिपुरासुन्दरी मन्दिर व्यवस्थापन विद्यार्थी समितिका अध्यक्ष लोचन कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसी, मन्दिरका मुख्य पुजारी तथा ढकारी गाउँपालिका–८ का वडाध्यक्ष उद्धवराज उपाध्याय, तुर्माखाँद गाउँपालिका–७ का वडाध्यक्ष भीमबहादुर चलाउने तथा गैरसरकारी संस्थाका तर्फबाट कृष्णप्रसाद देवकोटालगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले तितौडाको धार्मिक महत्व संरक्षण गर्दै यसको पर्यटन सम्भावनालाई उजागर गर्न सबै तहका सरकार र सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।


