वार्षिक समीक्षामा बान्नातोली स्वास्थ्यचौकी प्रथम, कुन्तीबण्डाली दोस्रो


पैरवी खबर

मंगलसेन । मंगलसेन नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षामा बान्नातोली स्वास्थ्यचौकी प्रथम भएको छ।

दुई दिनसम्म सञ्चालन भएको वार्षिक समीक्षा कार्यक्रममा गरिएको मूल्याङ्कनमा बान्नातोली स्वास्थ्यचौकीले ७५.५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। त्यस्तै, ६८ अंक प्राप्त गर्दै कुन्तीबण्डाली स्वास्थ्यचौकी दोस्रो, ६६.७ अंकसहित कालागाउँ स्वास्थ्यचौकी तेस्रो र ६४.७ अंक प्राप्त गर्दै जुपु स्वास्थ्यचौकी चौथो स्थानमा परेको छ।

स्वास्थ्य संस्थाहरूले वर्षभरि गरेका काम तथा पूरा गरेका सूचकका आधारमा मूल्याङ्कन गरिएको स्वास्थ्य शाखा प्रमुख भूमिनन्द ढुंगानाले जानकारी दिनुभयो।

मूल्याङ्कनका लागि सुशासन समितिका संयोजक तथा मंगलसेन नगरपालिका–८ का अध्यक्ष ज्ञानेन्द्रबहादुर बोहराको संयोजकत्वमा मूल्याङ्कन समिति गठन गरिएको थियो।

समीक्षा कार्यक्रमको समापन अवसरमा उत्कृष्ट स्थान हासिल गर्ने चारवटै स्वास्थ्य संस्थाका प्रमुख तथा सम्बन्धित वडा अध्यक्षहरूलाई सम्मान गरिएको थियो।

वार्षिक समीक्षाले स्वास्थ्य संस्थाहरूको कार्यसम्पादन, सेवा प्रवाह तथा निर्धारित सूचकको प्रगतिको अवस्थाबारे समीक्षा गर्दै आगामी दिनमा सेवा सुधारका लागि थप आधार तयार गर्ने अपेक्षा गरिएको छ।