अछाम — मंगलसेन नगरपालिकास्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबारदेखि सुरु भएको समीक्षा कार्यक्रम बुधबार सम्पन्न भएको हो।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मंगलसेन नगरपालिकाका १४ वडामा रहेका १७ वटा स्वास्थ्य संस्थाले वर्षभरि सञ्चालन गरेका स्वास्थ्य कार्यक्रम, हासिल गरेको प्रगति तथा आगामी दिनमा गर्नुपर्ने कामको समीक्षा गरिएको थियो। साथै, स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र चुनौती पहिचान गर्दै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ।
स्वास्थ्य शाखा प्रमुख भूमिनन्द ढुंगानाका अनुसार समीक्षा कार्यक्रममा स्वास्थ्य संस्थाहरूले गरेका सकारात्मक काम, हासिल गरेको प्रगति तथा सुधार गर्नुपर्ने क्षेत्रका विषयमा व्यापक छलफल गरिएको थियो। प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो प्रगति विवरण प्रस्तुत गर्नुका साथै एक–अर्कालाई पृष्ठपोषण दिने कार्यलाई समेत सँगसँगै अघि बढाइएको उहाँले बताउनुभयो।
सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष बृखबहादुर बोगटीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर प्रमुख पदमबहादुर बोहराले स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिएर नागरिकलाई सेवा प्रदान गर्ने सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो। उहाँले आगामी दिनमा अझै मेहनत र समर्पणका साथ काम गर्न स्वास्थ्यकर्मीलाई सुझाव दिनुभयो।
कर्मचारीलाई थप सेवा–सुविधा उपलब्ध गराउने इच्छा हुँदाहुँदै पनि स्रोत–साधनको अभावका कारण अपेक्षाअनुसार कर्मचारीको मन जित्न नसकिएको नगर प्रमुख बोहराले बताउनुभयो। उहाँले नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो।
नगर उपप्रमुख संगीता रावल सोडारीले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको अथक प्रयासका कारण मंगलसेन नगरपालिकामा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको बताउनुभयो। केही चुनौती अझै विद्यमान रहेकाले तिनको सामना गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध भएर लाग्न उहाँले सुझाव दिनुभयो।
नगरपालिकाले चाहेर पनि एम्बुलेन्स खरिद गर्न नसकेको उल्लेख गर्दै उपप्रमुख रावलले सीमित स्रोत–साधनका बाबजुद पालिकाले नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो।
समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगानाले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा जिम्मेवारी निर्वाह गरिरहेका स्वास्थ्यकर्मीको भूमिकाको प्रशंसा गर्नुभयो। सीमित स्रोत–साधनका बाबजुद स्वास्थ्यकर्मीले नागरिकलाई सेवा प्रवाह गरिरहेको भन्दै पालिकाको ध्यान स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विकासतर्फ पनि केन्द्रित भएको उहाँले बताउनुभयो।
केही स्वास्थ्य संस्थाले अझै जस्तापाताको छानामुनिबाट सेवा दिइरहेको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले त्यस्ता स्वास्थ्य संस्थाको पहिचान गरी आवश्यकताअनुसार भौतिक संरचना निर्माण गरिने बताउनुभयो।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख सीमा थापा, मंगलसेन नगरपालिका वडा नम्बर १२ का अध्यक्ष खकेन्द्रबहादुर रावल, कालागाउँ स्वास्थ्यचौकीका इन्चार्ज मानबहादुर सोडारी, पत्रकार टेकबहादुर थापा तथा साझेदार संस्थाको तर्फबाट वाक नेपालका तपेन्द्र खड्कालगायतले सुझावसहित मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन सिनियर अहेब चन्द्रप्रसाद ढुंगानाले गर्नुभएको थियो। कार्यक्रममा नगरपालिकाका सबै वडाका अध्यक्ष, कार्यपालिका सदस्य तथा १७ वटै स्वास्थ्य संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो।


