मेल्लेखमा चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुँदै


पैरवी खबर

साँफेबगर ।

अछामको मेल्लेख गाउँपालिकामा चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। मेल्लेख गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ मेल्लेखमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

गाउँपालिकाले जारी गरेको सूचना अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले तोकिएको समय भित्र टिम दर्ता गर्नु पर्नेछ। प्रतियोगिताका लागि २०८३ भदौ १२ गते देखि १७ गतेसम्म बिहान ११ बजेसम्म टिम दर्ता गर्ने समय तोकिएको छ। प्रतियोगिता मेल्लेख गाउँपालिका वडा नम्बर ५, मेल्लेख, अछाममा सञ्चालन हुने जनाईएको छ। प्रतियोगिताको उद्घाटन भदौ १७ गते दिउँसो ४ बजे हुने तथा खेल सञ्चालन सोही दिन देखि सुरु हुने सूचनामा उल्लेख छ।

प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख ५१ हजार १ सय १ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। यस्तै द्वितीय हुने टोलीले १ लाख ५१ हजार १ सय १, तृतीय हुने टोलीले ८५ हजार १ सय १ तथा सान्त्वना हुने टोलीले २५ हजार १ सय १ रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्।

त्यसै गरी सर्वोत्कृष्ट खेलाडीलाई सात हजार नगद पुरस्कार प्रदान गरिने र अन्य विधाका खेलाडीहरुलाई ३ हजार पाँच सय नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। पुरस्कार राशीमा नियमानुसार कर कट्टी गरिने पनि उल्लेख गरिएको छ।

प्रतियोगितामा सहभागी हुने खेलाडी सम्बन्धित पालिकाको स्थायी बासिन्दा हुनु पर्ने र स्थायी ठेगाना खुल्ने परिचय पत्र पेश गर्नु पर्नेछ। एउटा टिममा १२ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना व्यवस्थापक गरी १४ जना रहने व्यवस्था गरिएको छ।

प्रतियोगितालाई स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभा पहिचान तथा युवालाई खेलकुद तर्फ आकर्षित गर्ने अवसरका रुपमा हेरिएको छ। यस्ता अध्यक्ष कप प्रतियोगिताहरुले स्थानीय खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव र आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिने गरेका छन्।