साँफेबगर । बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण साँफेबगरमा सम्पन्न भएको छ। सेवक नेपालद्वारा संचालित किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवं सहयोगी वातावरण (SAFE-Girls) कार्यक्रम अन्तर्गत बृहत यौनिकता शिक्षा सम्बन्धी साथी शिक्षकहरुलाई लक्षित तीन दिने तालिम साँफेबगरमा सम्पन्न भएको हो। तालिममा साँफेबगर नगरपालिका, मंगलसेन नगरपालिका र कमलबजार नगरपालिकाका ११/११ जना गरी ३२ जना युवाहरुको सहभागिता रहेको थियो। तालिममा बृहत यौनिकता शिक्षा, किशोरकिशोरीको स्वास्थ्य, लैङ्गिक समानता, सुरक्षित व्यवहार तथा जीवन उपयोगी सीप सम्बन्धी विषयमा सहजीकरण गरिएको थियो। तालिमको सहजीकरण प्रशिक्षक हंश बहादुर कुँवर र नितु टमट्टाले गर्नु भएको थियो। तालिम समापनमा बोल्दै साफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुवर शिलोजले तालिममा सिकेका कुराहरुलाई व्यावहारमा लागू गर्नु पर्ने बताउनु भयो। उहाँले समाजमा हुने बाल बिबाह, घरेलु हिंसा, जातीय विभेद न्यूनीकरण गर्न युवाहरुको भुमिका महत्वपूर्ण हुने बताउनु भयो। उहाँले यस्ता कुरिती र कुसंस्कारका विरुद्व एक रुपता भएर लाग्न सुझाव दिनु भयो। यस्तै समापन कार्यक्रममा साँफेबगर नगरपालिका शिक्षा शाखाका झंकर प्रसाद खनाल, जिएनआईका प्रदेश संयोजक जगदीश दाश, वाक नेपालका कार्यक्रम व्यावस्थापक टेक बहादुर थापा, सेवक नेपालका जेन्डर अफिसर प्रेम प्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो। समापन कार्यक्रमको संचालन प्रशिक्षक हंश बहादुर कुँवरले गर्नु भएको थियो। KOICA, Good Neighbors International Nepal, सेवक नेपाल, वाक नेपाल तथा UNFPA को सहकार्यमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो।


