दशपल्लेपानी मावि सोकटमा निर्माण भएको महिनावारीमैत्री शौचालय किशोरीका लागि वरदान


पैरवी खबर

अछाम । चौरपाटी गाउँपालिका–२ स्थित श्री दशपल्लेपानी माध्यमिक विद्यालयमा निर्माण गरिएको महिनावारीमैत्री शौचालयले विद्यालयमा अध्ययनरत किशोरीहरूलाई सहज वातावरण प्रदान गरेको छ।
चौरपाटी गाउँपालिका, गुड नेवर्स इन्टरनेशनल नेपाल र मालिका विकास संगठनको साझेदारीमा निर्माण गरिएको उक्त शौचालयले महिनावारीका समयमा किशोरीहरूले भोग्ने असहजता न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।
विद्यालयमा सुरक्षित, सफा तथा गोपनीय वातावरणसहितको शौचालय निर्माण भएपछि छात्राहरूको नियमित विद्यालय उपस्थितिमा समेत सकारात्मक प्रभाव परेको बताइएको छ। महिनावारीलाई अझै पनि लाज र संकोचको विषय मानिने ग्रामीण समाजमा यस्ता पूर्वाधारले किशोरीहरूको स्वास्थ्य, सरसफाइ र शिक्षामा पहुँच सुनिश्चित गर्न सहयोग पुगेको सरोकारवालाहरूको भनाइ छ।
महिनावारी स्वच्छता व्यवस्थापनलाई प्राथमिकतामा राख्दै निर्माण गरिएको उक्त शौचालयले विद्यालयलाई थप बालमैत्री तथा किशोरीमैत्री बनाउन योगदान पुर्‍याएको छ। स्थानीय तह र साझेदार संस्थाहरूको सहकार्यमा निर्माण भएका यस्ता संरचनाले समुदायमा महिनावारी सम्बन्धी सकारात्मक सन्देश फैलाउन समेत मद्दत पुगेको अपेक्षा गरिएको छ।