रमन भट्ट
साँफेबगर २३ जेष्ठ । अछामको साँफेबगरमा ठूलो लगानीमा सुविधा सम्पन्न बेकरी हाउस खुलेको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा सुविधा सम्पन्न हिमाल बेकरी हाउस संचालनमा ल्याईएको छ।
आन्तरिक तथा वाह्य पर्यटकलाई सेवा सुविधा दिनकै लागि ३० लाखको लगानीमा बेकरी संचालनमा आएको छ। संचालक हिमाल कुँवरको लगानीमा बेकरी संचालनमा आएको छ।
बेकरीमा बर्थ डे केक, दही, दुध, डुनट लगायत बेकरीजन्य पर्दाथ पाईन्छ। लाखौंको लगानीमा संचालनमा ल्याईएको बेकरी हाउस सोमबार साँफेबगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले रिबन काटेर उद्घाटन गर्नु भएको छ।
बेकरी उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले बेकरीले सेवा र व्यवसायसंगै समय सापेक्ष सामाजिक क्षेत्रमा पनि योगदान पुर्रयाउनु पर्नेमा जोड दिनु भएको छ। उहाँले नीजि क्षेत्रको ठूलो लगानीमा बेकरी संचालनमा आउनु खुसीको कुरा भएको उल्लेख गर्दै सेवा सर्वसुलभ र गुणस्तरीय हुनु पर्नेमा जोड दिनु भयो।
साँफेबगर नगरपालिकाका नवनिर्वाचित उप–प्रमुख शिव बहादुर कुँवर (शिलोज) ले पछिल्लो समयमा स्थानीय स्तरमा बढ्दैै गएको लगानीले रोजगारका सम्भावना पनि बढ्दै जाने बताउनु भयो। उहाँले जिल्लाको पूँजीलाई बाहिर लगानी गर्नु भन्दा पनि आफ्नै ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिनु भएको छ।
यस्तै कार्यक्रममा सहभागीहरुले स्थानीय स्तरमा हुने लगानीले रोजगारीको अवसरमा मद्दत पुग्ने पनि बताए। बेकरी संचालक कुँवरले बेकरी व्यवसायलाई सामाजिक क्षेत्रमा जोड्ने आफ्नो मुख्य लक्ष्य रहेको बताउनु भयो। पछिल्लो समयमा बेरोजगारका कारण बाहिर पलाएन हुने समस्यालाई अन्त्य गर्नका लागि आफूले पहल गर्दै आएको उहाँकोे भनाई रहको छ।