मंगलसेन:- अछामको मंगलसेन नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन गरिएको छ। “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने मूल नाराका साथ अभियानको शुभारम्भ गरिएको हो।
नगर उपप्रमुख संगीता कुमारी रावलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख बोहराले लैङ्गिक हिंसा समाजको गम्भीर समस्याका रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्ने बताउनुभयो। उहाँले लैङ्गिक हिंसाविरुद्ध घरपरिवारदेखि समुदाय र स्थानीय सरकारसम्म सबैले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) का सुदूरपश्चिम प्रदेश प्रमुख राजकुमार ढुंगाना र मंगलसेन नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख मञ्जु महतले मन्तव्य राख्दै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको महत्त्व, उद्देश्य र अभियानका क्रममा गरिने गतिविधिबारे जानकारी गराउनुभएको थियो।
उद्घाटन कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुंगाना, पूर्व नगर उपप्रमुख सरिता उपाध्याय, कार्यपालिका सदस्य, प्रहरी, कर्मचारी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन महिला विकास निरीक्षक जौकला सार्कीले गर्नुभएको थियो।


